देश/प्रदेश

‘डुलुवा’ टोली पोखराबाट हुम्ला

Banner

गण्डकी, कात्तिक २२-

पर्यटन प्रवर्द्धनको लक्ष्यसहित विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धनात्मक भ्रमण गर्दै आएको ‘डुलुवा’ टोली पर्यटकीय नगरी पोखराबाट हुम्ला प्रस्थान गरेको छ । डुलुवाको २१ सदस्यीय टोली पर्वत, बागलुङ, रुकुमकोट, लिमी, लाप्चा ला पास पुगेर आगामी मङ्सिर १ गते पोखरा फर्किने तालिका छ ।

टोलीलाई शुक्रबार एक कार्यक्रमकाबीच पोखरा भ्रमण वर्ष, २०२५ का संयोजक गोपीबहादुर भट्टराई, रेवान पोखराका पूर्वअध्यक्ष नरेश भट्टराई, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरलगायतले बिदाइ गर्नुुभयो ।

उक्त क्रममा डुलुवाका संयोजक योगेश भट्टराईलाई पोखरा भ्रमण वर्षका संयोजक भट्टराईले भ्रमण वर्षको व्यानर हस्तान्तरण गर्नुुभएको थियो । भट्टराईले पोखरासहित समग्र गण्डकी प्रदेश प्राकृतिक रुपले नै साहासिक यात्राको गन्तव्य भएको बताउँदै यस यात्राले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुुभयो ।

पोखराले भ्रमण वर्ष मनाइरहँदा विभिन्न कार्यक्रमको आयोजना गरेको बताउँदै उहाँले पोखरामा पर्यटक भित्र्याउन नेपाल र नेपाल बाहिरसमेत प्रवद्र्धनका कार्यक्रम गर्नुपर्नेमा जोड दिनुुभयो । भट्टराईले आफूहरूको यस अभियानले नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरता रहेका रमणीय ठाउँको उजागर गर्ने उद्देश्य राखेको जानकारी गराउनुुभयो ।

हुम्ला नेपालका अन्तिम उपत्यका रहेको उल्लेख गर्दै उहाँले यो यात्रा निकै रोमाञ्चकारी हुने विश्वास व्यक्त गर्नुुभयो । यस कार्यक्रमले कैलाश पर्वत र लिमी उपत्यकासम्म पुग्ने प्राचीन बाटोलाई पुर्नजीवित गर्ने उहाँको भनाइ छ ।

हुम्ला अन्तिम उपत्यका अभियान नामकरण गरी यात्रा थालेको टोलीले रुकुमकोट, राकम, सर्खेघाट, सिमकोट, लिमी उपत्यका र पाँच हजार मिटर उचाइको लाप्चा ला पास परेर सिमकोट फर्किने कार्यक्रम छ । टोली सर्खैघाट कोहलपुर बुटवल हुँदै ११ दिनमा पोखरा फर्किने जनाइएको छ ।

‘डुलुवा’ पोखराका पर्यटनकर्मी युवाको समूह हो । सन् २००८ देखि प्याराग्लाइडिङ तथा पर्यटन व्यवसायमा आबद्ध युवा मिलेर नेपाल घुम्न सुरु गरेका थिए । सोही समूहलाई सन् २०२० मा आएर ‘डुलुवा’का रुपमा नामकरण गरिएको थियो । स्थापनाको १५ वर्षमा डुलुवाले नेपालका ७० जिल्ला भ्रमण गरेको छ । त्यस्तै टोलीले भारतको लद्दाखसम्म र कास्कीदेखि कन्याकुमारीसम्म सफलतापूर्वक यात्रा गरिसकेका छन् ।

यात्राका क्रममा ‘डुलुवा’ समूहले बनाएको ‘वि विल राइज फाउण्डेशन’ र नेपाल टेलिभजनद्वारा आयोजित भिडियो प्रतियोगिताको उपाधि डुलुवा समूहको ‘दि नर्देन वाल’ले जितेको थियो । प्रतियोगिताको ‘मोस्ट एनरजेटिक भिडियो मेकर’ अवार्ड पनि ‘डुलुवा’ कै ‘मेरो गाउँ तक्सेरा’ ले जितेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>