चितवन विशेष
प्रहरी निरीक्षक रिजाललाई ‘असोज महिनाको उत्कृष्ट प्रहरी’ अवार्ड

चितवन, असोज ३१–
जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी निरीक्षक दिपक प्रसाद रिजाल ‘महिनाको उत्कृष्ट प्रहरी’ अवार्डबाट सम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा रिजाललाई उत्कृष्ट प्रहरीको अवार्ड घोषणा गरेको हो ।
रिजालले नारायणघाट–मुग्लिन सडक खण्ड अन्तरगत इच्छाकामना गाउँपालिका–५, तुईन खोलामा सुख्खा पहिरो खस्दा उक्त स्थानमा प्रत्यक्ष रुपमा खटिई यात्रुहरूको सहजीकरण तथा सडक खुलाउनको निम्ति उल्लेखनीय भूमिका खेलेको, जेनजी आन्दोलनका क्रममा चितवन जिल्ला कारागारबाट फरार भएका कैदीबन्दीहरुलाई पक्राउ गरी कारागार बुझाउन सफल भएको, उक्त आन्दोलनकै क्रममा इलाका प्रहरी कार्यालय टाँडीबाट हराएका हतियार फिर्ता ल्याउन सफल भएको भन्दै उत्कृष्ट प्रहरीको अवार्डको प्रदान गरिएको हो ।
रिजाललाई जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले अवार्ड प्रदान गरे ।
























