चितवन विशेष
महको गुणस्तरियता कायम गर्न प्रशिक्षण

चितवन, असोज ३०-
चितवनमा महको गुणस्तरियता कायम गर्न प्रशिक्षण प्रदान गरिएको छ । नेपाली मह मूल्य श्रृखलाको लागि बजार पहुँच कार्यक्रमले चितवन सहित आठ जिल्लाका किसान तथा कृषि प्राविधिकलाई प्रशिक्षण प्रदान गरेको हो ।
असल मौरीपालन अभ्यास बारे विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले चितवनको भण्डारामा किसान तथा कृषि प्राविधिकलाई तीन दिनसम्म प्रशिक्षण तालिम प्रदान गरिएको परियोजनाका नेशनल भ्यालु चेन्ज डेभलपमेन्ट एक्सपर्ट सुरेस बरालले जानकारी दिए ।
यहाँबाट प्रशिक्षण लिएर गएका प्रशिक्षकले सम्बन्धित जिल्लामा गएर किसानहरुलाई असल मौरी पालन अभ्यासबारे जानकारी दिने उनले बताए । मंगलबार देखि बिहीबारसम्म सञ्चालन भएको तालिममा २१ जना प्रशिक्षकको सहभागिता रहेको थियो । यहाँबाट सिकेर उनीहरुले प्रत्येक जिल्लामा महको गुणस्तर र प्रशोधनको विषयमा दुई सय किसानलाई तालिम दिने बरालले बताए ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा पाँच जना प्रशिक्षकले तालिम प्रदान गरेका थिए । जसमा मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईले मौरीको चरण, गोला छनोट, रोग व्यवस्थापन, मौरीपालन विकास केन्द्र गोदावरीका प्रमुख तिर्थकुमार श्रेष्ठले मौरी जन्य उपकरणहरुको उत्पादन तथा व्यवस्थापन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनका प्रमुख प्रमोद चन्द्र पौडेलले महको गुणस्तर र यसका मापदण्द बारे प्रशिक्षण दिएका थिए । यसैगरी व्यवसायीक किट विकास केन्द्रका प्रमुख सावित्रि बरालले असल मौरी पालन सम्बन्धी भइरहेका अभ्यास र मौरी विज्ञ सुरेन्द्रराज केसीले मह उत्पादनको उद्गमन पहिचान तथा व्यवस्थापनका विषयमा प्रशिक्षण दिएको बरालले जानकारी दिए ।
यस तालिमले गुणस्तर मह उत्पादन तथा बिक्री वितरणमा सहता प्रदान गर्ने बताउँदै मौरी पालक कृषकहरुलाई मह निर्यात कर्ताहरुसंग सम्बन्ध विस्तार गर्नमा जोड दिने उनको विश्वास छ । मौरीपालक किसान शिव पौडेलले सरकारले प्रविधिक ज्ञान सहित प्याकेजिङ र लेभलिङ गरेमा किसानहरुले गुणस्तरिय मह उत्पादन गर्न सक्ने बताए ।
नेपाली महको आन्तरिक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने उद्देश्यले नेपालका आठ जिल्लामा गत वर्षदेखि यस परियोजना लागू भएको छ । संयुक्त राष्ट्र औद्योगिक विकास संगठन (यूएनआईडिओ)को आर्थिक सहयोगमा नेपालका चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, सर्लाही, कास्की र पाल्पा जिल्लामा परियोजना लागु भएको हो । उच्च गुणस्तरको मह बिक्री मार्फत परियोजना लागू भएका जिल्लाहरूमा साना मौरी पालक, साना, लघु, मझौला उद्यमी र मह प्रशोधकहरुका लागि जीविकाका अवसरहरू सुधार गर्नमा परियोजनाले लगानी गर्नेछ ।
सन् २०२८ सम्म सञ्चालन हुने यस परियोजनाको महको गुणस्तर सुधार गर्ने र स्वास्थ्य सम्बन्धी सूचक पुरा गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प¥याउने उद्देश्य रहेको छ ।






















