चितवन विशेष
चितवनमा मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम

चितवन, असोज २४-
चितवनका लायन्स क्लवहरुले ‘मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम’को आयोजना गरेका छन् । लायन्स क्लव अफ नारायगढ, लायन्स क्लव अफ नारायणगढ नारायणी, लायन्स क्लव अफ बागेश्वरी, लायन्स क्लव अफ नारायगढ संगमचोक, लायन्स क्लव अफ नारायणगढ संगमचोक सञ्जिवनीको संयुक्त आयोजनामा आज नारायणी कला मन्दिरमा मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको हो ।
‘विपत समयमा मानसिक स्वास्थ्य’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, शिक्षक तथा सर्वसाधरणको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रशिक्षण दिँदै मनोपरामर्श दाता तथा नर्स सर्मिला रेग्मीले नेपालमा मानसिक स्वास्थ्यका बिरामीहरु बढ्दै गएको बताउँदै विपतमा मानसिक स्वास्थ्य बारे जानकारी लिनु पर्ने बताउनुभयो । उहाँका अनुसार अहिले नेपालमा चार जना मध्ये एक जनालाई मानसिक स्वास्थ्य सम्बन्धी समस्या रहेको छ ।
मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जतिकै महत्वपूर्ण रहेको बताउँदै उहाँले मन, सोच र व्यवहारलाई ध्यान दिनुपर्ने बताउनुभयो । अहिले पनि मानिसक स्वास्य समस्यालाई लुकाउने समस्या रहेको भन्दै उहाँले हरेक उमेर समुहका व्यक्तिलाई यस्तो समस्या रहेको बताउनुभयो ।
नेपालमा नसर्ने रोगमध्ये १८ प्रतिशत रोग मानसिक समस्या रहेको छ । लायन्स क्लव इन्टरनेशल डिस्ट्रिक ३२५ आर नेपालका भ्वाईस गभर्नर प्रभाकर पण्डितले लायन्स क्लवले विश्व मानसिक स्वास्थ्य दिवस देशव्यापी रुपमा मनाइरहेको जानकारी दिनुभयो । नेपालमा रोजगारी, शिक्षा, आन्दोलन लगायतका कारणले मानसिक समस्या भएका बिरामी बढ्दै गएको बताउँदै उहाँले मानिस सन्तुष्ट हुन सिक्नुपर्ने धारणा राख्नुभयो । मानसिक स्वास्थ्य समस्याले पारिवारिक, र्शैक्षक, सामाजिक, आर्थिक लयातका दैनिक क्रियाकलापमा असर पर्ने गर्दछ । कार्यक्रम लायन्स क्लव अफ नारायणगढका अध्यक्ष सनद कुमार पियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।























