चितवन विशेष
चितवनमा ४ दिनमा ८ सय बढी मतदाता थपिए

चितवन, असोज २३–
चितवनमा मतदाता नामावलीमा नाम दर्ता गराउने युवाको आकर्षण देखिको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार ४ दिनमा ८ सय २९ जनाले नाम दर्ता गराएका छन् । ती मध्ये ९० प्रतिशत मतदाता २५ वर्षभन्दा कम उमेर समुहका रहेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता नामावली दर्ता गराउनेमा महिलाभन्दा पुरुष बढी छन् । पाँच सय १५ जना पुरुषले नाम दर्ता गर्दा तीन सय १४ जना महिलाले मात्र नाम दर्ता गराएका छन् ।
चितवनमा प्रतिनिधि सभाको निर्वाचनपछि १३ हजार ५० मतदाता थपिएका छन् । २०७९को प्रतिनिधि सभाको निर्वाचनमा चार लाख आठ हजार ३४२ जना मतदाता थिए । बिहीबारसम्म चार लाख २१ हजार ३९२ जना पुगेको कार्कीले जानकारी दिनुभयो ।
रुपन्देहीमा उपनिर्वाचन हुने भनेपछि असार १६ गतेदेखि मतदाता नामावली संकलन कार्य रोकिएको थियो । सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकेपछि पुरानो व्यवस्थाअनुसार भदौ २८ गतेबाट मतदाता नामावली संकलन कार्य रोकिएको थियो । सरकारले ल्याएको मतदाता नामावली संशोधन अध्यादेश असोज ८ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएपछि चितवनमा असोज १० गतेदेखि मतदाता नामावली संकलन गर्न सुरु गरिएको थियो । जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको कार्यालयबाट सामानहरु विभिन्न दाताबाट जुटाएर मतदाता नामावली संकलनको कार्य गरिररहेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले बताउनुभयो । यहाँबाट दैनिक दुई सयको हाराहारीले मतदाता नामावली दर्ता गर्ने गरेको उहाँले बताउनुभयो ।
फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने मतदाता नामावलीमा नाम भएका नागरिकले फागुन २१ गतेको निर्वाचनमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।























