चितवन विशेष
चितवन मेडिकल कलेजमा एक महिना स्तन क्यान्सरको निःशुल्क परीक्षण हुने

चितवन, असोज २२–
चितवन मेडिकल कलेज (सिएमसी) क्यान्सर इन्स्टिच्युटले एक महिनाका लागि निःशुल्क स्तन क्यान्सरको परीक्षण गर्ने भएको छ ।
अस्पतालले आज पत्रकार सम्मेलन गर्दै अक्टोबर महिना भर स्तन (ब्रेष्ट) क्यान्सर सम्बन्धी सचेतना जगाउने उद्देश्यले निःशुल्क स्तन क्यान्सर परीक्षण गर्न लागिएको जानकारी दिएको हो । अस्पतालका निर्देशक प्रताप देवकोटाले यस महिना स्तन क्यान्सरको परीक्षण गर्न आउनेहरुलाई बहिरंग (ओपीडी) टिकट निःशुल्क व्यवस्था गरिएको जानकारी दिए । तालिम प्राप्त स्वास्थ्यकर्मीले स्तनमा गाँठागुँठी छन् छैनन् भन्ने बारेमा निःशुल्क परीक्षण गर्नेछन् । शंकास्पद देखिएका बिरामीलाई थप परीक्षणका लागि पठाइने र स्तनको मेमोग्राम र स्तनको युएसजी (भिडियो एक्सरे)मा ५० प्रतिशत छुट दिइने अस्पतालका निर्देशक देवकोटाले बताए ।
पछिल्लो समय स्तन क्यान्सरका बिरामीहरु समेत बढ्दैछन् । स्तन क्यान्सर विश्वभरका महिला मध्ये सबैभन्दा धेरै देखिने क्यान्स्र मध्येमा एक हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सन् २०२२ मा झण्डै २.३ मिलियन महिलाहरुमा स्तन क्यान्स्रको उपचार भयो भने ६ लाख ७० हजार महिलाको मृत्यु भयो ।
चितवन मेडिकल कलेजका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ सुदिप थापाले सबैभन्दा धेरैमा आन्द्रा र स्तन क्यान्सर नै देखिने गरेको बताए । उनले वंशाणुगत, हर्मोन, धु्रमपान, मद्यपानलगायतका कारण क्यान्सर लाग्ने गरेको भन्दै समयमै उपचार गरे निको हुने बताए ।
























