चितवन विशेष

धर्म–संस्कृतिसँग जोड्दै समाजसेवी श्रेष्ठ दम्पतीद्धारा चितवनको चेपाङ गाउँमा दशैं भोज

Banner

चितवन, असोज १५-

समाजसेवी राजेश लाल श्रेष्ठ र उहाँकी धर्मपत्नि बिना प्रधान श्रेष्ठले कालिका नगरपालिका वडा नम्बर–१० स्थित छेरबाङ र ११ को दौतेसका स्थानीय बासिन्दालाई विजय दशमीको अवसर पारेर सामूहिक भोज खुवाउनुभएको छ ।

सामाजिक सद्भाव र आपसी एकता सुदृढ गर्ने उद्देश्यले भरतपुर-२ नारायणगढ स्थायी घर भई हाल जर्मन बस्दै आउनुभएका श्रेष्ठ दम्पतीले अष्टमिको दिन सो कार्यक्रमको आयोजना गर्नुभएको हो । श्रेष्ठले समुदायमा आपसी मेलमिलाप र संस्कृतिप्रति सम्मानको भाव जगाउने उदेश्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।


नवदुर्गाको पुजा गर्ने प्रचलन हराइरहेको समयमा आफ्नो धर्म सस्कृतिमा स्थानीयलाई जोड्नका लागि सामुहिक भोजन गराईएको उहाँको भनाई छ । धर्म परिर्वतन पछि नवदुर्गाको पुजा गर्न छाड्दै आएको छेरवाङ र दौतेसमा यसपटक नवदुर्गा पुजा समेत गरिएको छ । यहाँका अधिकांश चेपाङ समुदाय धर्म परिर्वतन गरेर क्रिश्चियन भएका छन् । दौतेसमा पुजारी समेत टाढाबाट खोजेर ल्याउनु परेको थियो । त्यहाँका अधिकांश  समुदायले टिका नलगाएपनि कार्यक्रममा १ सय ७० जनाको उत्साहजक सहभागिता रहेको उहाँले बताउनुभयो ।

विगतका बर्षमा दुर्गाको पुजा हुने ठाउँमा पछिल्ला बर्ष पुजा समेत हुन छाडेको पुजारी चन्द्र बहादुर चेपाङले बताउनुभयो । ‘हामी सानो हुँदा दौतेशमा नवदुर्गामा पञ्चबली सहित ठुलो पुजा लाग्थ्यो’, चेपाङले भन्नुभयो ‘यहाँका मानिस अन्य धर्ममा लागेपछि पुजा हुन छाडेको थियो । यसपटक सहयोगी दाताको सहयोगमा गाउँलेलाई जम्मा गरेर पुजा गर्न पायौँ।’


छेरवाङका पुजारी शेरबहादुर प्रजाले पछिल्ला वर्षमा धर्म परिर्वतन हुँदै गएपछि दशैँमा पुजा गर्ने चलन विस्तारै घट्दै गएको बताउनुभयो । यहाँ चेपाङ, तामाङ र गुरुङ समुदायको बसोबास छ । तामाङ र गुरुङ समुदायले दशैँमा टिका लगाउने गरेपनि अधिकांश चेपाङ समुदायले टिका लगाउँदैनन् ।
नवदुर्गाको अवसर पारेर बोका र कुखुरा काटिएको थियो । कालिकाको विकट गाउँमा अधिकांश मानिस गरिबिको रेखामुनी छन् । दशैँको समयमा एक छाक भएपनि मिठो मसिनो खुवाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्थानीय चन्द्रबहादुर तामाङले बताउनुभयो ।


विदेशमा बसेर भएपनि नेपालमा सामाजिक काम गर्दै आउनुभएका श्रेष्ठले सिद्धिको छात्राबासमा पाँच जना चेपाङ छात्रालाई पढाइरहनुभएको छ । साथै जिल्ला प्रहरी कार्यालय चितवनमा दुर्गा मन्दिर र रामनगरको प्रहरी चौकीमा सन्तोषी माताको मन्दिर समेत निर्माण गरिदिनुभएको छ । सो कार्यक्रममा समाजसेवी शंकर भट्ट, हुमनाथ ढकाल, शिक्षक विश्व तामाङ लगायतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>