चितवन विशेष

कालिकाका विपन्न समुदायलाई क्यान्सर सम्बन्धी सचेतासँगै विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Banner

चितवन, असोज ९-

चितवनको कालिका नगरपालिका–८ रहेको श्री आधारभूत विद्यालय देविटारमा बालक्यान्सर, स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी एक सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । रोटरी क्लब अफ भरतपुर, रोट्र्याक्ट क्लब अफ भरतपुर, रोट्र्याक्ट क्लब अफ भरतपुर हाइट्स र चिल्ड्रेन क्यान्सर फाउन्डेशन नेपालको संयुक्त आयोजनामा विद्यार्थी तथा महिलालाई लक्षित गर्दै बुधवार स्वास्थ्य सम्बन्धी सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको हो ।

सो क्रममा सय भन्दा बढी स्थानीय महिलाहरुलाई प्रारम्भिक अवस्थामा नै क्यान्सरको लक्षण चिन्ने र यसको रोकथामका उपायहरूबारे जानकारी दिइएको रोटरी क्लब अफ भरतपुरका अध्यक्ष डा कृष्णसागर शर्माले जानकारी दिनुभयो । रोटरी क्लबकी प्रथम महिला तथा स्तन र पाठेघर क्यान्सर सचेतना प्रशिक्षक सबिता पन्थीले महिलाहरूका लागि एक विशेष स्वास्थ्य शिक्षा कक्षा सञ्चालन गर्नुभएको थियो । बाल क्यान्सरको बिरामीहरुको उपचारलागि क्यान्सर अस्पतालमा सहज उपचार सेवा उपलब्ध हुने उहाँले बताउनुभयो ।

यसैबिच कार्यक्रमअन्तर्गत विद्यालयका १३५ जना विद्यार्थीहरूलाई ट्र्याकसुट, जुत्ता र मोजा जस्ता आवश्यक शैक्षिक सामग्री वितरण गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । बहुसंख्यक चेपाङ्ग तथा अन्य सीमान्तकृत समुदायका विद्यार्थीहरू पढ्ने भएकाले यस्ता स्वास्थ्य सम्बन्धी जानकारी पुग्नु अत्यन्तै महत्वपूर्ण रहेको उहाँको भनाई छ ।

दूरदराज र सीमान्तकृत समुदायलाई लक्षित गरेर आयोजना गरिएको यो कार्यक्रमले स्थानीय स्तरमा ठूलो सकारात्मक प्रभाव पारेको आयोजकहरूको विश्वास छ। भविष्यमा यस्ता सामाजिक सरोकारका कार्यक्रमहरूलाई अझ विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सर्जेन्ट एट आर्म रोटेरियन मधु प्रसाद पोखरेलले दर्जनौं विद्यार्थीहरूको कपाल काटेर उनीहरुको व्यक्तिगत सरसफाइमा पनि योगदान पुर्‍याउनु भएको थियो ।

कार्यक्रमलाई सफल बनाउनका लागि रोट्र्याक्ट क्लब अफ भरतपुरका अध्यक्ष सुशान्त रेग्मी र रोट्र्याक्ट क्लब अफ भरतपुर हाइट्सका सचिव अंकित श्रेष्ठलगायत युवा सदस्यको टोलीले कार्यक्रमको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । रोटरी क्लब अफ भरतपुरका अध्यक्ष तथा चिल्ड्रेन क्यान्सर फाउन्डेशन नेपालका संस्थापक अध्यक्ष रोटेरियन डा कृष्ण सागर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिका ८की वडा सदस्य सुनिता परियार प्रमुख अतिथि रहनुभएको थियो ।

रोटरी क्लब अफ भरतपुरकी सचिव रोटेरियन नविन भण्डारीले कार्यक्रमको सहजिकरण गर्नुभएको कार्यक्रममा कार्यक्रम संयोजक तथा कोषाध्यक्ष रोटेरियन बद्रीनाथ पोखरेल, सेवा परियोजना प्रमुख राजेन्द्र चापागाईं, सर्जेन्ट एट आर्म मधु पोखरेल र विशाल चापागाईं, र भावी अध्यक्ष विनोद खण्ड तिमिल्सिना, एजी रोटेरियन धन बहादुर श्रेष्ठ, विद्यालय प्रमुख गंगा राना, पास्ट प्रेसिडेन्ट काउन्सिल चेयर भोला जोशी, र पास्ट प्रेसिडेन्ट हरिदेवी शर्मा लगायतका विशिष्ट व्यक्तिहरुको पनि सहभागिता रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>