समाचार
हाई–प्रोफाइल जोडिएकाको फाइल खोजी-खोजी नष्ट

काठमाडौं, असोज ७-
अदालतमा हाई प्रोफाइल भएका व्यक्ति जोडिएका सबै फाइल खोजीखोजी ध्वस्त पारिएको पाइएको छ। जेनजी आन्दोलनका नाममा सर्वोच्च अदालतसहित मुलुकका २३ वटा अदालतमा रहेका हाई प्रोफाइल भएका व्यक्ति जोडिएका फाइल ध्वस्त पारिएको हो।
सूर्यदर्शन, स्वर्णलक्ष्मीलगायत सहकारी ठगी, बहुचर्चित नक्कली भुटानी शरणार्थी काण्ड र सुन तस्करीजस्ता अनुसन्धानमूलक फाइलहरू ध्वस्त भएका छन्।
साथै, माओवादी द्वन्द्वकाल र भूमिसम्बन्धी महत्वपूर्ण मुद्दाका फाइलहरू पनि ध्वस्त भएको अदालतका एक कर्मचारीले जानकारी दिए। अदालतमा रहेका मुद्दाका मिसिलसँगै इतिहास, अभिलेख र नजिर जलाएर खरानी पारिएको छ। आक्रमणकारीहरूले रवि लामछिाने जोडिएका धेरैजसो फाइल ध्वस्त पारेको स्रोतको दाबी छ।
विभिन्न जिल्ला अदालत, सरकारी वकिलको कार्यालयहरूलगायत न्यायिक निकायहरूमा आक्रमणकारीले आगो लगाएका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाण, टोपबहादुर रायमाझी, ३३ किलो सुन तस्करीमा संलग्न व्यक्तिहरूको फाइल पनि नष्ट भएका छन्। यसैगरी, माओवादी द्वन्द्वका बेला माओवादी नेताहरूमाथि लाग्दै आएको व्यक्ति हत्याको मुद्दासम्बन्धी फाइल पनि नष्ट भएका छन्। सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र कास्की अदालतमा मुद्दाका मिसिल र दस्तावेज अहिले खरानी भएका छन्।

























