राजनीति
जेनजी युवालाई सिटौलाको सुझावः तपाईंहरूले केही जित्नु भएको छैन, सिंगो नेपाल हारेको छ

काठमाडौं,असोज ६-
नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आन्दोलनमा जेनजी युवाहरुको जित नभएको बताएका छन् । दशैंको अवसरमा सोमबार एक शुभकामना सन्देश जारी गर्दै नेता सिटौलाले सिंगो नेपालले हारेका समय जेनजीले पनि केही नपाएको दाबी गरेका हुन् । उनले भने, भदौं २४ गते सबैतिर भएको लुटपाट, तोडफोड र अगजनीको जति निन्दा र भर्त्सना गरेपनि पुग्दैन । त्यो लुटपाट, आगजनी र तोडफोडमा सहभागी सबैलाई मेरो आग्रह छ, तपाईंहरुको मन अब यस्तो कहिल्यै नबनोस् । यस्तो आतंककारी गतिविधिमा कहिल्यै सरिक नहुनुहोस् अब । तपाईंहरूले केही जित्नु भएको छैन, सिंगो नेपाल हारेको छ ।
यो घटनाले आम नेपालीको मनामा भय पसेको बताउँदै राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता सिटौलाले मुलुकलाई नयाँ निकास दिन नयाँ ढंगले अघि बढ्न आवश्यक रहेको बताए । उनले भने, यो त्रासदिबाट मुक्ति दिन हामीसवै फेरि एकपटक नयाँ ढंगले नयाँ सुरुवात गरौं ताकि हामीबीचमा एकता हुन सकोस् ।
नेतृत्व हस्तान्तरणको विषयमा नेपाली कांग्रेसभित्र विवाद सुरु भएको प्रशंगमा उनले यो बेला पार्टीमा परस्पर सहयोगको भावना हुन आवश्यक रहेको बताए । पार्टीमा देखिएको विवाद थप बढाउने भन्दा समाधान गर्नेतर्फ अग्रसर हुन आवश्यक रहेको उनको भनाइ थियो । नेता सिटौलाले राष्ट्र निर्माणका लागि फेरि पनि एकैठाउँमा आउने समय आएको बताउँदै उत्तेजना फैल्याउने काम नगर्न सबैलाई आग्रह गरे । यो दुःखलाई शक्तिमा परिणत गर्न आवश्यक रहेको बताउँदै नेता सिटौलाले आतंकबाट मुक्ति गर्न सबैको साथसहयोग जरुरी रहेको बताए । संकटबाट राष्ट्रलाई बचाउन सबैमा एकता आवश्यक रहेको उनको भनाइ थियो ।
























