राजनीति
ट्रम्प र सीले शुक्रबार फोनमा कुरा गर्ने

काठमाडौँ, असोज २-
चीनले अमेरिकी कम्पनी गुगलमाथि चलिरहेको प्रतिस्पर्धा विरोधी अभ्यासको (एन्टीट्रस्ट) अनुसन्धान रोकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध चर्काउने संकेत देखिएपछि चीनले गुगलमाथि अनुसन्धान थालेको थियो।
तर दुई महाशक्ति राष्ट्र टिकटकको बिक्री लगायत व्यापारिक विषयमा सहमति नजिक पुगेपछि चीनले गुगल माथिको अनुसन्धान रोकेको भनेर सो निर्णयबारे जानकार दुई व्यक्तिलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ। चीनको बजार नियमनका लागि राज्य प्रशासन नामको निकायले गुगल विरूद्धको प्रतिस्पर्धा अनुसन्धानलाई रोकेको हो।
फेब्रुअरीमा औपचारिक रूपमा सुरू भएको यो अनुसन्धान मुख्यतया सो कम्पनीको एन्ड्रोइड अपरेटिङ सिस्टमको वर्चश्व र यसले साओमी र ओप्पो लगायत चिनियाँ फोन कम्पनीमा पारेको असरमा केन्द्रित थियो। यो निर्णय लिएर चीनले व्यापार वार्तामा लचिलो हुन सक्ने भनेर अमेरिकालाई सन्देश दिएको छ।
यो साता अमेरिका र चीनबीच स्पेनको राजधानी म्याड्रिडमा तीन दिनसम्म भन्सार, निर्यात नियन्त्रण र टिकटकको बिक्री लगायत विषयमा वार्ता भएको थियो। सो वार्तामा भएको प्रगति पछि ट्रम्पले शुक्रबार चिनियाँ समकक्षी सी चिनफिङसँग फोन गर्ने भएका छन्। सो कुराकानीमा अमेरिकामा टिकटक कम्पनी बिक्री गर्ने बारेको सम्झौतालाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ।
सो कुराकानीपछि ट्रम्पले यो वर्षको अन्त्य सम्ममा चीनको भ्रमण गर्ने पनि टुंगो लाग्ने सम्भावना छ। दोस्रो कार्यकाल सुरू गरेदेखि नै ट्रम्प सीलाई भेट्न आतुर छन्। केही दिनअघि चीनले ट्रम्पलाई भ्रमणको निम्तो दिएको भनेर अहिले चर्चा चलेको छ।
यस्तो बेलामा गुगल माथिको अनुसन्धान रोक्ने निर्णय आएको हो। अनुसन्धान रोक्ने निर्णयबारे गुगललाई भने अहिलेसम्म औपचारिक रूपमा जानकारी गराइएको छैन भनेर फाइनान्सियल टाइम्सले जनाएको छ। चीनका नियामकले गुगल माथिको अनुसन्धान रोके पनि विश्वको सबभन्दा मूल्यवान चिप निर्माता एनभिडिया कम्पनी माथिको छानबिन भने रोकेको छैन। जनवरी २० मा भएको ट्रम्पको शपथ ग्रहण र त्यसपछि उनले चिनियाँ सामानमा भारी भन्सार लगाउने भएपछि चीनले गुगल र एनभिडिया दुवैमाथि प्रतिस्पर्धा सम्बन्धी अनुसन्धान सुरू गरेको थियो।
























