राजनीति
सार्वजनिक र निजी सम्पत्ति तोडफोड एवं लुटपाट गर्नेलाई हदैसम्मको कारबाही होस्ः रास्वपा

काठमाडौं, भदौ ३०-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, चोरी, लुटपाट तथा आगजनी जस्ता आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्न माग गरेको छ । रास्वपाको तर्फबाट त्यस प्रक्रियामा पूर्ण प्रतिबद्धता रहने प्रवक्ता मनिष झाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी सदैव लोकतन्त्र, सुसंस्कृत राजनीति र शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको स्पष्ट पार्न चाहन्छौं । कुनै पनि बहानामा हिंसात्मक प्रदर्शनको मार्ग नलिने हाम्रो नीति रहेको छ’, विज्ञप्तिमा भनिएको छ । विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा विनाहातहतियार शान्तिपूर्वक भेला हुने नागरिकको मौलिक हक उल्लंघन गर्दै तत्कालीन सरकारबाट भदौ २३ र २४ मा नृशंस दमन तथा हत्या भएको रास्वपाको टिप्पणी छ ।
‘यो घटना मानव अधिकार उल्लंघन मात्र नभई गम्भीर मानवीय अपराध हो भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ । यस्ता आततायी दमन र क्रुर हत्याको दोषीहरूमाथि आवश्यक छानबिन गरी कानूनी कारबाही सुनिश्चित गरिनु पर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
जेनजीको प्रदर्शन घोषणा लगतै भदौ २२ गते नै आफूहरूले विज्ञप्तिमार्फत् उनीहरूले उठाएका मागलाई यथोचित सम्बोधन गर्न अपिल गर्दै जेनजीको शान्तिपूर्ण प्रदर्शनलाई बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न सरकारलाई खबरदारी गरेको रास्वपाले स्मरण गरेको छ ।
‘पछिल्लो पुस्ताको सडक प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध लगायत समस्त युवाहरूलाई कुनै पनि दलीय संकेत, नारा र परिचय प्रयोग नगरी शान्तिपूर्वक ऐक्यबद्धता जनाउन आग्रह पनि गरेका थियौं’, रास्वपाले भनेको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी विधिको शासन, कानूनी सर्वोच्चता र शान्तिपूर्ण राजनीतिक अभियानमा प्रतिबद्ध छ । हाम्रा सदस्यहरू कुनै पनि खाले हिंसात्मक गतिविधिका लागि उत्प्रेरित र निर्देशित नरहेको प्रष्ट पार्न चाहन्छौं ।’
























