राजनीति
कार्की नेतृत्वको सरकारमा मन्त्री नबन्ने सुमनाको घोषणा

काठमाडौं, भदौ २८-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ एवं पूर्वमन्त्री सुमना श्रेष्ठले अन्तरिम सरकारमा मन्त्री नबन्ने बताएकी छिन् । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री बन्ने हल्ला भएपछि उनले सामाजिक सञ्जालमार्फत बाहिरै बसेर सहयोग गर्न लागेको प्रस्ट्याएकी हुन् । सरकारप्रति पूर्ण समर्थन रहेको भन्दै उनले यसलाई असफल हुने सहुलियत नभएको पनि बताएकी छिन् ।
‘मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई असफल हुने सहुलियत छैन, पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन,’ अन्तरिम मन्त्रिमण्डलमा जान लागेको हैन भन्दै उनले भनेकी छिन्, ‘हरेक आन्दोलनपछि जसको विरुद्ध आन्दोलन भएको हो त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदूषित भएको छ । यसपालिको आन्दोलनमा म त्यस्तो प्रदूषणको कारक बन्दिनँ, यसको उपलब्धि संस्थागत गर्न दिलो ज्यान दिएर काम गर्छु ।’
श्रेष्ठ पछिल्लो समय रास्वपासँग असन्तुष्ट बन्दै आएकी थिइन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग उनी संवादमा रहँदै आएकी थिइन् ।























