चितवन विशेष
चितवनमा राति राति कफ्र्यू, दिनभर निषेधाज्ञा

चितवन, भदौ २६-
चितवनमा राति कफ्र्यू र दिउँस निषेधाज्ञा जारी गरिएको छ र बिहीबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म निषेधाज्ञा र बेलुकी ८ देखि बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आम नागरिकको जनधनको सुरक्षा तथा जनजीवनलाई सामान्यीकरणतर्फ लैजान यो निर्णय गरिएको बताए।
जिल्ला प्रशासन कार्यालयले साँझ जारी गरेको सूचनामा निषेधाज्ञाको समयमा एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने उल्लेख छ ।
अत्याश्यक सेवा एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, मानवअधिकार तथा कुटनीतिक नियोग, औषधि तथा खाद्यान्न, पशुपन्छीको दाना, इन्धन, दूध, तरकारी पानी, पर्यटक बोकेका सवारी साधनलाई सञ्चालनमा अवरोध नगरिने सूचनामा उल्लेख छ।
























