राजनीति

आफ्नै जनता मार्ने आतंकवादी मानसिकताको सरकार होः सोविता गौतम

Banner

काठमाडौं,भदौ २३-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोवित गौतमले वर्तमान सरकारलाई आतंकवादी मानसिकताको सरकार भएको टिप्पणी गरेकी छन्। सरकारले आफ्नै जनता मारेर आतंकवादी मानसिकता देखाएको उनको प्रस्टोक्ति छ। सरकारले बन्दुकको साहरामा देशको भविष्य हत्या गरेको उनको भनाइ छ । जेन–जी आन्दोलनमा सरकारले गरेको दमनको विरोध गर्दै रास्वपा नेता गौतमले जनताको रगत बगाएर कुर्सी जोगाउने सोचाइ नै सत्तावादको घिनलाग्दो अनुहार भएको बताएकी छन्।

‘प्रदर्शनकारीलाई पछाडि हटाउन असंख्य वैकल्पिक उपायहरू हुँदाहुँदै पनि सरकारले सिधैं गोली चलायो । बन्दुकको बलमा प्रतिरोधका स्वर दमन गर्नु वीरता होइन, कायरता हो’, उनको आरोप छ। कुनै राजनीतिक स्वार्थ नबोकेका, समानता र न्यायको माग बोकेर सडकमा निस्केका छोराछोरी पुस्तालाई अभिभावक बनेर जोगाउनुपर्ने सरकारले संवादको सट्टा गोली खोलेको उनको भनाइ छ। उनी भन्छिन्, ‘यो हत्या हो । यो शक्तिशालीले निर्बलमाथि शासन गर्ने पुरानो शासकीय चरित्रको पुनरावृत्ति हो । जनताको रगत बगाएर कुर्सी जोगाउने सोचाइ नै सत्तावादको घिनलाग्दो अनुहार हो ।’ अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार भएको उनको भनाइ छ । ‘यो जनताको होइन, शक्तिको लोभीहरूको सरकार हो’, उनले भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>