इच्छकामना
चेपाङ समुदायले चितवनमा सामूहिक रुपमा मनाए न्वाँगी पर्व

भरतपुर,भदौ २२-
चेपाङ समुदायले आज न्वाँगी (छोनाम) पर्व चितवनमा जम्मा भएर सामूहिक रुपमा मनाएका छन । सिमान्तकृत समुदायका रुपमा रहेका उनिहरुले इच्छाकामना गाउँपालिका–६ कालिखोलामा विभिन्न कार्यक्रम गरी मनाएका हुन । नेपाल चेपाङ सङ्घ केन्द्रीय समितिको आयोजनामा भएको चेपाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व न्वाँगी (छोनाम) को बागमती प्रदेशका संस्कृती तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले चेपाङ समुदायको उत्थान र संस्कृती संरक्षणमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा चेपाङ झाँक्री (पान्दे) र अन्य विविध सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । नेपाल चेपाङ संघले न्वागी पर्वको पूर्वसन्ध्यामा शनिवार साँझ कालिखोलामा दीप प्रज्वलन गरेको थियो भने आइतबार दिनभर विविध कार्यक्रम गरियो । नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले हरेक चेपाङका घरघरमा साँझमा दीप प्रज्वलन गरिएको बताउनुभयो ।
चितवनसहित चेपाङ समुदायको बसोबास रहेका जिल्लाहरु मकवानपुर, धादिङ, गोरखा, तनहुँ र लमजुङका चेपाङ समुदाय चितवनमा भेला भएका हुन । देशका ६ वटा जिल्लामा रहेका चेपाङ समुदायले विशेषगरी चारवटा जिल्लामा पालैपालो न्वागी पर्व मनाउने गरेका छन । अघिल्लो वर्ष धादिङमा मनाएको न्वागी पर्व यस वर्ष चितवनमा मनाउन लागिएको हो । चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङका अनुसार आगामी वर्ष मकवानपुरको राक्सिराङ गाउँपालिकामा मनाइने छ ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले चेपाङ समुदायको संस्कृति र परम्परा संरक्षणका लागि न्वागी पर्वले ठूलो महत्व राख्ने अध्यक्ष चेपाङले बताउनुभयो । उहाँले गाउँपालिकामा यसवर्ष चेपाङ समुदायले पर्व मनाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
इच्छाकामना गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष लक्ष्मण प्रजाले सामूहिक रुपमा पर्व मनाउन थालेपछि पर्वको झन् महत्व बढेको र सहभागिता समेत बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “संस्कार, संस्कृति, भाषा लोपोन्मुख हुँदै गएको थियो । यसलाई संरक्षण गर्न हामीले सामूहिक रुपमा न्वाँगी पर्व मनाउने गरेका हौँ ।”
यो पर्वमा नयाँ अन्नबाली, फलफूल पाकेपछि विशेष पूजा गर्दै प्रकृतिलाई चढाएर खाने गरिन्छ । यो चेपाङ समुदायका लागि नयाँ वर्ष पनि हो । यो दिन चेपाङहरुले काँक्रो, अमिलो, पिँडालु/गाभा, मकै, कागुनो, घैयाधानले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गर्दछन् । नेपालको सात जिल्लमा ८४ हजार ३६४ जना चेपाङको जनसङ्ख्या छ । जसमध्ये चितवनमा सबैभन्दा बढी ३५ हजार ६३७ जना छन् । मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६०, गोरखामा चार हजार २६८ र बाँकी अन्य जिल्लामा छरिएर बसेका छन् ।
























