चितवन विशेष
एनएनटिए तीज गीत प्रतियोगितामा राप्ती महिला समूह प्रथम

चितवन, भाद्र १-
नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभाग चितवनद्वारा आयोजित जिल्लास्तरीय तीज गीत प्रतियोगितामा एनएनटिए राप्तीले प्रथम स्थान हासिल गरेको छ।
जिल्ला समन्वय समितिको हलमा सम्पन्न प्रतियोगितामा चितवन जिल्लाका सातै पालिकाहरूको प्रतिनिधित्व रहेको थियो । उक्त तीज गीत प्रतियोगितामा खैरनी महिला समूह द्वितीय, इच्छाकामना महिला समूहले तृतीय स्थान र माडी महिला समूहले सान्त्वना स्थान हासिल गरेका छन्। डाक्टर धनेश्वर भट्टराई, प्रतिमा सिलवाल र लीला दाहाल निर्णायकका रूपमा रहनुभएको उक्त कार्यक्रममा चितवन जिल्लाका सम्पूर्ण पालिकाहरूको प्रतिनिधित्व रहेको थियो।
हरितालिका तीजको अवसर पारी आयोजना गरिएको उक्त तीज गीत प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय शिक्षा तथा मानव स्रोत विभाग प्रमुख पार्वती रावल रहनुभएको थियो । विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी,नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य निलीमा लामा, प्रदेश महासचिव पूर्णबहादुर पुरी,एमाले चितवनका अध्यक्ष कमलराज पाठक, सङ्गठनका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यराज बराल, मौलाकालिका अस्पतालका प्रतिनिधि ईश्वरी पण्डित लगायत विभिन्न अतिथिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा चितवन जिल्लाका २०० बढी शिक्षक अरुको उपस्थिति रहेको थियो।

मौलाकालिका अस्पतालसँग स्वास्थ्य सम्झौता गर्दै सम्पूर्ण शिक्षकहरूको स्वास्थ्य परीक्षणमा २५% छुटको व्यवस्था समेत सोही कार्यक्रमको अवसरमा गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय शिक्षा विभाग प्रमुख पार्वती रावलले यो सरकारले कुनै पनि हालतमा शिक्षा ऐन जारी गर्ने र त्यसका लागि गृहकार्य भइरहेकाले ससंकित नहुन शिक्षकहरूलाई विश्वस्त तुल्याउनुभएको थियो। गणतान्त्रिक शिक्षा ऐनले शिक्षकहरूका माग सम्बोधन गर्दै गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्ने र यसका लागि शिक्षकहरू समेत थप जिम्मेवार र दृढ हुनुपर्ने रावलको भनाइ थियो। महिला विभाग सचिव इन्दिरा सापकोटाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको सभाध्यक्ष महिला विभाग प्रमुख दुर्गा कुमारी लामिछाने रहनुभएको थियो।
























