चितवन विशेष
चितवनको साहारा सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्न माग

चितवन, साउन ३१-
साहारा चितवन बहुद्देश्य सहकारी संस्थालाई समस्या ग्रस्त सहकारीको रुपमा घोषणा गर्न बचतकर्ताले माग गरेका छन् । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री विनु पौडेल रायमाझी (पौडेल)लाई भेटगरी उनीहरुले चितवनमा सञ्चालित तीन वटा शाखालाई समस्या ग्रस्त सहकारी घोषणा गर्न माग गरेका हुन् ।
साहारा चितवन संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले चितवनमा सञ्चालित साहारा सहकारी ३ वर्षदेखि बचतकर्ताको रकम फिर्ता नगरी मुख्य सञ्चालक जिबि राईसहित केही सञ्चालक फरार रहेकाले यसलाई समस्या ग्रस्त सुचिमा राख्नुपर्ने बताए । उनले चितवन जिल्ला अदालतमा मुद्दा बिचाराधिन अवस्थामा रहेको र उक्त सहकारी संस्था अब पुनस्र्थापित हुने अवस्था नरहेकाले सम्पूर्ण सदस्यहरुले समस्या ग्रस्त घोषणा गर्न माग गरेको उनले बताए । उनीहरुले यसअघि चैत्र ५ गते सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेश हेटौँडामा पुगेर समेत निवेदन दिएका थिए । त्यतिखेर मन्त्रीले तोक लगाएर अगाडि बढेको काम बिचमा रोकिएकाले त्यसलाई निराकरण गर्नका लागि नवनियुक्त मन्त्रीलाई भेट गरेर अनुरोध गरिएका बताए ।
नवनियुक्त मन्त्री रायमाझीले ज्ञापनपत्र बुझ्दै बचतकर्ताका माग अनुसार अगाडि बढ्ने बताईन् । ‘एक दुईदिन मन्त्रालय हुँदिन । पर्सि मन्त्रालय गएर काम अगाडि बढाउन निर्देशन दिन्छु’ उनले भनिन् ‘मेरो प्राथमिकता सहकारी पीडितको बचत फिर्ता गराउने हुनेछ।’ चितवनको सहकारीको अवस्था बारे आफु धेरै जानाकार रहेको बताउँदै कानुनले मिले अनुसार काम समस्या ग्रस्त सहकारी घोषणा गर्ने प्रतिवद्धता समेत जनाइन् ।
यस साहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ३२ जनाविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा छ । सहकारीले ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना गरेको प्रहरीले अनुसन्धान गरेको प्रतिवेदनमा उल्लेख छ । यसरी हालसम्म साहरा सहकारीले उठाउनुपर्ने ऋण ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो रहेको देखाइएको जनाइएको छ ।
प्रहरीका अनुसार साहाराको कुल पुँजी दायित्व ६५ करोड १६ लाख ७१ हजार ७ सय १२ रुपैयाँ देखिन्छ । त्यसमध्ये बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम ५२ करोड ३२ लाख ८५ हजार रहेको छ । कर्जा लिएका व्यक्ति र कम्पनीले भुक्तानी गर्नुपर्ने रकम ५६ करोड २२ लाख ५० हजार रुपैयाँ देखिएको प्रहरीले जानकारी दिएको छ ।
अनुसन्धान प्रतिवेदनअनुसार कम्पनीमा ४३ करोड १४ लाख ४९ हजार लगानी भएको पाइएको छ । त्यसैगरी प्रतिवादीले ५ करोड ७९ लाख ८३ हजार ८ सय ७३ रुपैयाँ एकआपसमा रकम ऋण लिएका छन् । अन्य बचतकर्ता १ सय १८ जनामा मात्र ऋण लगानी भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । सहकारीमा करिब ७ हजार बचतकर्ता छन् ।
























