चितवन विशेष
देवघाटमा शवदाह गृह भवन निर्माण अन्तिम चरणमा

चितवन, साउन ३०-
चितवनको देवघाटमा निर्माणाधिन शवदाह गृह भवन अन्तिम चरणमा पुगेको छ । भवनमा विद्युत मिटर जडान गरेर सञ्चालनको तयारीमा पुगिसकेको सघन शहरी तथा भवन निर्माण आयोजनाले जानकारी दिएको हो । आयोजनाका अनुसार सञ्चालनका लागि केही दिनमा भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिनेछ ।
भवन सञ्चालन, संरक्षण तथा व्यवस्थापनका लागि महानगरका कर्मचारीलाई आपूर्तिकर्ता कम्पनीमार्फत मेसिन सञ्चालन, शव व्यवस्थापन तथा प्रदूषण नियन्त्रणसम्बन्धी तालिम दिएर हस्तान्तरण गरिने सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका इन्जिनियर तथा सूचना अधिकारी द्रोण कटवालले जानकारी दिए ।
भवनमा मलामीका लागि पर्याप्त ठाउँ, स्नानसहितको बाथरुम, चारवटा शव राख्न सक्ने मर्चुरी च्याम्बर, आपतकालीन जेनरेटर र दुईवटा विद्युतजडित दाहसंस्कार मेसिन जडान गरिएको छ । यस मेशिनबाट एकैपटक दुई शव दाहसंस्कार गर्न सकिनेछ । यी मेसिनले सामान्य अवस्थामा ४५–५० मिनेटमा र अधिकतम ९० मिनेटमा दाहसंस्कार पूरा गर्नेछन् ।
प्रदूषण नियन्त्रणका लागि पोलुसन कन्ट्रोल युनिट र ३० मिटर अग्लो चिम्नी जडान गरिएको छ । विद्युत प्राधिकरणको ग्रिडबाट आपूर्ति हुने विद्युतमार्फत शवदाह भवन सञ्चालन गरिने उनले जानकारी दिए ।
वि.सं.२०७७ सालको माघ महिनामा समपन्न गर्नेगरी २०७५बाट काम सुरुवात भएको थियो । तर निर्माण कार्यमा प्राविधिक जटिलता र साइट क्लियरेन्सन नहुँदा समयमा सम्पन्न गर्न नसकिएको इन्जिनियर कटवालले जानकारी दिए ।
























