चितवन विशेष
चितवनमा ४० करोड लगानीमा कृषि प्रशोधन उद्योग निर्माण हुँदै

चितवन, साउन २६-
चितवनमा ४० करोड लगानीमा कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण गरिने भएको छ । मेरो किसान लिमिटेडले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २२ स्थित पटिहानीमा कृषि प्रशोधन उद्योग तथा कोल्ड स्टोर निर्माण गर्न लागिएको हो । प्रशोधन केन्द्रले सोमबार आफ्नो छैटौँ बार्षिकोत्सवको अवसर पारेर औपचारिक रुपमा उद्योगको सिलान्यास गरिएको छ।
यहाँबाट तोरी, टमाटर, बेसार, अदुवा, अलैँची, कोदो, फापर, मह, कफी लगायतका २५ भन्दा बढी कृषि उत्पादनहरुको प्रशोधन गरिने संस्थाका म्यानेजिक डाइरेक्टर अविनाश सिलवालले जानकारी दिए । कच्चा पदार्थ चितवनका किसानसँगै देशभरका स्थानीय उत्पादकहरुबाट संकलन गर्ने लक्ष्य उद्योगले राखेको छ । यहाँबाट उत्पादित वस्तुहरु देश तथा विदेशमा पनि निर्यात गरिने उनले जानकारी दिए।
यस परियोजनाको निर्माण आगामी पुससम्ममा समपन्न गर्ने लक्ष्य रहेको छ । अत्याधुनिक कोल्ड स्टोरबाट तरकारी तथा फलफुल काठमाडौँ, पोखरा लगायतका प्रमुख शहरमा आपुर्ति गर्ने उनले बताए ।
























