चितवन विशेष

दाउन्ने एग्रोले गर्‍यो ८ करोड १५ लाख नाफा

Banner

चितवन, साउन २५-

दाउन्ने एग्रो फार्म लिमिटेडले रु= ८ करोड १५ लाख ९० हजार नौ नाफा गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा प्रतिशेयर रु. १८.३७ आम्दानी गर्न सफल भएको हो ।

कम्पनीको आज सम्पन्न आठौं वार्षिक साधारणसभामा अध्यक्ष बिनोद पोखरेलले पेश गर्नुभएको प्रगति प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा प्रतिशेयर रु ३ .६४ आम्दानी गरेको कम्पनीले यस वर्ष प्रतिशेयर आम्दानी बढाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा कम्पनीले रु २ करोड ६३ लाख ४७ हजार ८९७ नाफा गरेको थियो । त्यसवर्ष कम्पनीको चुक्ता पूँजी रु२७ करोड रहेकोमा गत आर्थिक वर्षमा चुक्ता पूँजी बढेर रु ५० करोड पुगेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा रु १ अर्ब ५२ करोड ४६ लाख ९० हजार ८७६ कूल बिक्री गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा रु  १ अर्ब २१ करोड ४२ लाख १९ हजार ७०१ कूल बिक्री गरेको थियो ।

कम्पनीको कूल सम्पत्ति उल्लेख्य मात्रामा बढेको छ । कम्पनीको कूल सम्पत्ति रु १ अर्ब ६६ करोड ९२ लाख ५४ हजार १७९ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा रु १ अर्ब ४० करोड ८९ लाख ३८ हजार १२ कूल सम्पत्ति रहेको थियो ।

साधारणसभाले कम्पनीको २०८१/०८२ को आर्थिक तथा प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत प्रारम्भिक सार्वजनिक आव्हान (आईपिओ) मा जानका लागि सबै कानुनी प्रक्रियाहरु पूरा गरेकोले सो सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

सो अवसरमा अध्यक्ष पोखरेलले शेयरधनीहरुको अगाध विश्वासबाट कम्पनीले यो उचाई प्राप्त गरेको र यसलाई सार्वजनिक कम्पनीमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू स्वयं नेपाल लेयर्स कुखुरा पालक संघको अध्यक्ष भएका कारण अण्डाको मूल्यसँग कम्पनीको बिक्री आम्दानी मुख्य रहेकाले त्यसलाई कायम राखी कम्पनीको आम्दानी बढाउन लागि पर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा कम्पनीका सञ्चालक रघुनाथ भट्ट, हेमराज बडाल, विज्ञहरु चिकित्सकहरु डा. अनन्त दाहाल, डा.आशिष पोखरेल, वित्तिय सल्लाहकार ऋषिराम चालिसे, आध्यान्त फण्ड म्यानेजमेन्टका अध्यक्ष मनोज पौडेल, शेयरधनीका तर्फबाट माधवप्रसाद अर्यालले बोल्नु भएको थियो । यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिए विजयप्रसाद पौडेलले वित्तिय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कम्पनीका बारेमा कम्पनी सचिव सुरेन्द्रनाथ रेग्मीले प्रस्तुती दिनुभएको थियो ।

यस कम्पनी र यसका सहायक कम्पनीले लेयर्स कुखुराको अण्डा, कुखुरा, क्रेट, मल उत्पादन गरेर बिक्री गर्दै आएको छ । कम्पनीले गत आर्थिक वर्षमा ५ लाख २९ हजार २५० पेटी (११ करोड ११ लाख ४२ हजार पाँच सय वटा) अण्डा उत्पादन गरी बिक्री गरेको छ ।

नवलपरासी (सुस्ता–त्रिवेणी पूर्व) विनयी त्रिवेणी गाउँपालिका वडा नं.३ को सर्दीमा करिब ११ विगाहामा फैलिएको फार्ममा कुखुरा पालन गर्दै आएको यो कम्पनीमा अहिले चार लाख कुखुरा रहेका छन् । निकट भविष्यमै ६ लाख कुखुरा पु¥याउने लक्ष्य कम्पनीले लिएको छ ।

बि सं २०७४ मा स्थापना भएको यस कम्पनीमा शुरुवातमा एक लाख कुखुरा पालन गरिएको थियो । क्रमशः बृद्धि गर्दै लगिएको हो । दाउन्नेको फार्ममा स्वचालित, अत्याधुनिक उपकरण जडान गरिएका छन् । ती उपकरणहरु जर्मन र मलेसियाबाट आयात गरिएको संस्थापक अध्यक्ष रघुनाथ भट्टले बताउनुभयो । उहाँले भन्नुभयो “अत्याधुनिक तवरबाट कुखुरा पालन गरिएकाले अण्डा उत्पादनको प्रतिशत उच्च रहेको छ ।”

नेपालमा लामो समयसम्म कुखुरा पालन क्षेत्रमा अनुभव संगालेका कृषक र व्यवसायीहरुको लगानीमा यो कम्पनी स्थापना भएको हो । यहाँका लगानीकर्ताहरुको पोल्ट्रीसँग सम्बन्धित विभिन्न उद्योगहरुमा लगानी रहेको छ । जसका कारण लागत मूल्य घटाउन र गुणस्तरीय अण्डा उत्पादन गर्न सफल भएको अध्यक्ष पोखरेल बताउनुहुन्छ । कम्पनीले रु।१२ करोड ५० लाख बराबरको सर्वसाधारणका लागि शेयर (आईपिओ) जारी गर्ने तयारी गरेको छ । शेयर निष्काशनका लागि सिटीजन्स् क्यापिटलसँग सम्झौता गरिसकेको छ ।

साधारणसभाका अवसरमा संस्थापक अध्यक्ष रघुनाथ भट्ट र पूर्व सञ्चालकहरु द्रोणप्रसाद लामिछाने र हिमालय पौडेललाई सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>