चितवन विशेष
भरतपुर आँखा अस्पतालमा मनाईयो ‘विश्व नेत्ररोग विशेषज्ञ दिवस’

चितवन, साउन २३–
भरतपुर आँखा अस्पतालमा कार्यरत अफ्थाल्मोजिष्ट (आँखा रोग विशेषज्ञ/नेत्र रोग विशेषज्ञ)हरुले आज विश्व नेत्ररोग विशेषज्ञ दिवस मनाएका छन् । दिवसको अवसर पारेर आज एक कार्यक्रमकाबीच अस्पतालले कार्यरत विशेषज्ञ चिकित्सकहरुलाई सम्मान गरेको छ ।
चिकित्सकहरुले दिवसकै अवसर पारेर भरतपुर–५, स्थित ‘बालबालिकाहरुका लागि प्रहरी–नागरिक अभियान’ (पिटुसिटु)मा आश्रित ३२ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा लत्ताकपडा सहयोग छ । भरतपुर अस्पतालमा कार्यरत सह–प्राध्यापक डा.कुमुदिनी सुवेदीले विगत ३ वर्षदेखि नेपालमा विश्व नेत्ररोग विशेषज्ञ दिवस मनाउँदै आइरहेको भन्दै यसवर्ष पनि यहाँ कार्यरत चिकित्सकहरुले विभिन्न कार्यक्रम गरेर दिवस मनाईएको बताउनुभयो । उहाँले गतवर्ष पिटुसिटुमा शैक्षिक सामग्री तथा पानी पिउने बोतल प्रदान गरिएको बताउनुभयो ।
भरतपुर आँखा अस्पतालमा हाल १२ जना विशेषज्ञ र १० जना आवासीय चिकित्सक गरी २२ जना अफ्थाल्मोजिष्ट कार्यरत छन् । नेपाल मेडिकल काउन्सीलमा हालसम्म ५ सय अफ्थाल्मोजिष्टहरु दर्ता छन् ।
सह–प्राध्यापक डा.सुवेदीले आँखा उपचारका लागि अझै सचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । धेरै मधुमेहबाट आँखाको समस्या हुने गरेको भ्रममा रहेको रहेको भन्दै यस बारे सचेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।
विश्व नेत्ररोग विशेषज्ञ दिवस हरेक वर्ष अगस्ट ८ मा मनाइन्छ । यो दिन प्रख्यात सोभियत नेत्ररोग विशेषज्ञ सुवात्तोस्लाभ फ्योदोरोभको जन्मदिनको सम्मानमा स्थापना गरिएको हो । जसले नेत्र विज्ञान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका थिए ।
यो दिवस मनाउने पहल सन् २००४ मा रूसमा सुरु भएको थियो । त्यसपछि चेक गणतन्त्र, ग्रिस, इटाली र हंगेरीलगायत अन्य मुलुकका वैज्ञानिक र नेत्ररोग विशेषज्ञहरूले पनि यसलाई समर्थन गरेका थिए । त्यसयता, यो संसारभरका नेत्ररोग विशेषज्ञहरूको लागि पेशागत उत्सवको रुपमा मनाउन थालिएको हो । नेपालमा पछिल्लो ३ वर्ष यता यो दिवस मनाउन थालिएको डा.अमृत आचार्यले जानकारी दिनुभयो ।
भरतपुर आँखा अस्पतालले दिवसको अवसरमा औपचारिक कार्यक्रम गर्दै सबै चिकित्सकहरुलाई सम्मान गरेको भरतपुर आँखा अस्पतालका वरिष्ठ अस्पताल प्रशासक दया शंकर चौधरीले जानकारी दिनुभयो । ६२ शैय्याको भरतपुर आँखा अस्पतालमा देशका विभिन्न ठाउँबाट बिरामीहरु उपचारका लागि आउने गरेका छन् । गत आर्थिक वर्षमा ३ लाख २० हजार ६४८ जनाले आँखा उपचारको सेवा लिएको चौधरीले जानकारी दिनुभयो । सबैभन्दा धेरै मोतियाबिन्दुको उपचारका लागि बिरामी अस्पताल आउने गरेका छन् ।
























