चितवन विशेष
पूर्व वार्डेन यादवको सम्मानमा छावाको नाम राखियो ‘रामप्रित गज’

चितवन, साउन १८–
चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा तमोरकलीले जन्माएको छावाको नाम ‘रामप्रितगज’ राखिएको छ ।
चितवनको खोरसोरस्थित हात्ती प्रजननन् तथा तालिम केन्द्रमा आज ‘न्वारान’ गरिएसंगै छावाको नाम रामप्रितगज राखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले चितवन निकुञ्जको संरक्षणमा स्थापनाकाल देखिनै योगदान दिएकाले उहाँको सम्मानमा रामप्रीतगज नामाकरण गरिएको बताउनुभयो । ‘विभिन्न संरक्षणकर्मीहरुको सम्मानमा छात्तीको छावा नामाकरण गर्दै आइहेको छौं, यसपटक चितवन निकुञ्जको संरक्षणमा सुरुदेखि नै योगदान दिनुभएका संरक्षणकर्मीको नाताले सम्मान स्वरुप ‘रामप्रितगज’ नामाकरण गरेका हौं’–प्रमुख संरक्षण अधिकृत पन्तले भन्नुभयो ।
चितवन निकुञ्ज स्थापनाकालमा यादव रेन्जर पदमा रहेर संरक्षणमा खटिनुभएको थियो । उहाँ निकुञ्जको प्रमुख संरक्षण अधिकृत समेत हुनुभयो । यादव हाल अवकाशप्राप्त भएर घरमै हुनुहुन्छ । तर संरक्षणको क्षेत्रमा अझै सक्रिय हुनुहुन्छ । उहाँकै उपस्थितिमा हात्तीको नामाकरण गरिएको हो । सो क्रममा बोल्दै यादवले भन्नुभयो–‘मैले सुरुदेखि यो निकुञ्जको संरक्षणमा सक्रिय हुन पाए, मैले के कती गर्न सके यहाँहरुले मूल्यांकन गर्ने कुरा हो, आज मलाई मेरो सम्मान स्वरुप हात्तीको नामाकरण गर्दा मलाई निकै गर्वको महसुस भएको छ, निकुञ्जको सम्पूर्ण टिमप्रति आभार प्रकट गर्दछु । ’

‘रामप्रितगज’ तमोरकलीको तेस्रो सन्तान हो । उनको गत साउन ७ गते जन्म भएको थियो । यसलाइ जंगली हात्ती ‘रोनाल्डो’ को सन्तान भनिएको छ । हात्ती प्रजनन केन्द्रमा जन्मिएका छावा अधिकांश रोनाल्डोकै सन्तान हुनु । यहाँ जन्मिने भाले छावाको नामको पछाडि ‘गज’ र पोथी हात्तीको नामको पछाडि ‘कलि’ राख्ने प्रचलन छ । यो आर्थिक वर्ष २०८२/८३ मा जन्मिएको यो पहिलो छावा हो । गत आव २०८१/८२ मा ५ ओटा छावाको जन्म भएको हात्ती प्रजनन् केन्द्रका प्रमुख मनपुरन चौधरीले जानकारी दिनुभयो ।
हाल यो प्रजनन्न केन्द्रमा ठूला हात्ती ९, तालिम प्राप्त ६ र तालिम नगरेका ७ गरि २२ वटा हात्ती रहेका छन् । यस प्रजनन्न केन्द्र र निकुञ्ज भित्रका विभिन्न पोस्टमा गरि हाल ५८ वटा हात्ती छन् । वि.सं. २०४४ मा स्थापना भएको हात्ती प्रजनन् केन्द्र तथा तालिम केन्द्रमा २०५० सालदेखी बच्चा जन्मिन सुरु भएको हो । हालसम्म यस केन्द्रमा ६९ वटा बच्चा जन्मिएका छन् । जस मध्ये ६ वटा हात्ती विभिन्न कारणले मरे भने अरु जिवित छन् ।



























