Uncategorized
चितवनका साहित्यकार एलबी क्षेत्रीलाई कठघरामा उभ्याइयो

मधुसूदन दवाडी,
चितवन, साउन १७-
चितवनका अग्रज साहित्यकार एलबी क्षेत्रीलाई अक्षर समूह चितवनले पाठकको अदालतको कठघरामा उभ्याएको छ । ‘अमेरिकामा ४३ दिन’ यात्रा संस्मरण पुस्तक माथि भएको विमर्श कार्यक्रममा एलबी क्षेत्रीलाई आज समूहले पाठकहरुको अदालतको कठघरामा उभ्याएको हो ।
कठघरामा उभ्भिएका लेखकलाई न्यायाधीश बनेका समालोचकहरु उदय अधिकारी, डा. एकनारायण पौडेल, डा केशब चालिसे र सामना पहाडले किताबमाथि लागेका अभियोगबारे प्रश्न सोधेर बयान लिए । सामालोचक उदय अधिकारीले एलबी क्षेत्री मनमा लागेको काम पूरा गरेर छाड्ने व्यक्ति भएको बताए । उनले लेखक बाहिर जस्तो देखिन्छन् लेखनमा पनि त्यस्तै जस्तो देख्यो त्यस्तै लेख्ने व्यक्ति भएको बताए ।
त्यस्तै अर्का समालोचक सामना पहाडले लेखकले महिला पात्रमाथि न्याय गर्न नसकेको र कयौं अश्लील शब्दहरु प्रयोग गरेको आरोप लगाइन् । उनको प्रश्नको जवाफ दिँदै लेखक क्षेत्रीले जे देख्यो त्यही लेखेकोले पुस्तक केही पृथक बन्न गएको बताए । उनले यौनको बारेमा चर्चा गर्नु, वाइनको बारेमा लेख्नुले पश्चिमा शैलीको जनजीवन छर्लङ्ग भएको बताए । उनले समालोचकलाई कठघराबाट नै प्रतिप्रश्न गरे, ‘ के यौनको बारेमा लुकाएको भए राम्रो हुन्थ्यो त ?’ लेखक क्षेत्रीले पुस्तकमा आफू साधु सन्त जस्तो बन्न नचाएको बताए ।
कार्यक्रममा डा.चालिसेको प्रश्नमा अमेरिकामा बस्ने नेपाली युवाहरुले नेपालमा बस्न नसकेर आएको लेखक क्षेत्रीले बताए । उनले आफूले खोजेको अवसर नेपालमा नपाएर नेपालीहरु अमेरिका आएको प्रसंग पुस्तकमा उल्लेख गरिएको जानकारी दिए । डा.एकनारायण पौडेलले राखेको प्रश्नमा जवाफ दिँदै लेखक क्षेत्रीले दैनिक डायरी लेख्ने भएकोले तयारीको साथ पुस्तक तयार गरिएको जानकारी दिए । आफू लेखनमा निकै इमान्दार रहेर केही नलुकाई पुस्तकमा लेखेको लेखकले बताए । कार्यक्रममा लेखक क्षेत्रीले पाठकको प्रश्नको जवाफ दिँदै कतिपय ठाउँ र विश्वविद्यालयहरुमा आफू जान चाहेर पनि जान नसकेकोले पुस्तकमा ती प्रसंग छुटेको बताए ।
बहस सुन्न बसेका कवि भूपिनले आख्यान साहित्यको सैद्धान्तिक विवेचना गरेर लेखक क्षेत्रीलाई अवगत गराए । ११ पृष्ठमा तयार गरिएको सैद्धान्तिक विवेचनालाई संक्षिप्तरुपमा प्रस्तुत गर्दै विश्वमा गैर–आख्यान साहित्यको विकासक्रमबारे पाठकलाई अवगत गराए । उनले निबन्ध विद्या सबैभन्दा बढी समाजवादी विद्या भएको बताए । उनले विभिन्न साहित्यकारको भनाइलाई उधृत् गर्दै भने, ‘ निबन्ध, वृहत् र लचिलो विद्या हो । लेखाइमार्फत् जति पनि उड्न सकिन्छ । निबन्धलाई तार्किक, काब्यिक, नाटकीय निबन्ध र आख्यानात्मक निबन्ध गरी चार प्रकारमा वर्गीकरण गर्न सकिन्छ ।’
कार्यक्रममा अर्का लेखक जीवा लामिछानेले लेखनमा एलबी क्षेत्रीको आफ्नै बेग्लै शैली बनेको बताए । उनले आफू पाटन क्याम्पस पढ्दा देखि विसं २०४० सालदेखि एलबी क्षेत्रीलाई चिनेको बताए । आफू टाढा बसे पनि एलबी दाइको स्टाइलबाट परिचित रहेको बताए । ‘कसैले मन पराओस् वा नपरायोस् आफ्नो स्टाइल पाठकमाझ राख्ने लेखकको बानी छ ।’ गैर–आवासीय नेपाली महासंघको संस्थापक अध्यक्षसमेत रहेका उनले भने, ‘ अमेरिकाको हर क्षेत्रमा नेपालीहरुले निकै राम्रो प्रगति गरिरहेका छन् । गुणात्मकरुपमा निकै उदयमान भएर आइरहेको छन् । हर क्षेत्रमा नेपालीहरु उदाइरहेका छन् । १० वर्षपछि अमेरिकामा नेपालीहरु अझ धेरै सशक्त भएर अगाडि आउने छन् ।’
पेज टर्नर प्रालिले प्रकाशन गरेको सो यात्रा संस्मरण १८५ पृष्ठमा प्रकाशित छ । झण्डै ३० पृष्ठ बढी रंगिन फोटो राखेर प्रकाशित गरिएको पुस्तकको डिजाइन निकै आकर्षक रहेको छ । यसले अमेरिकामा रहेका नेपालीको अवस्था, जनजीवन र पश्चिमा संस्कृतिबारे चर्चा गरेको छ ।
























