राजनीति

‘बराहक्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ’

Banner

धरान (सुनसरी), साउन ११-

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक क्षेत्रको संरक्षण, पूर्वाधार निर्माण तथा सुधार र जल व्यवस्थापनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

आज बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा सुनसरीको बराहक्षेत्र नगरपालिका(१ स्थित बराहक्षेत्र मन्दिरमा आयोजित दोस्रो बराहजयन्ती कार्यक्रममा उहाँले यहाँका धार्मिक तथा सांस्कृतिक महत्त्वलाई कायम राख्दै यसको संरक्षणप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

हरेक वर्ष हजारौँ श्रद्धालुहरूको आगमन हुने यस तीर्थस्थलमा पूर्वाधार र संरचनाको स्तरोन्नति अपरिहार्य भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पछिल्लो समय बाढी तथा कटानको उच्च जोखिममा परेको बराहक्षेत्रमा तटबन्ध निर्माणका साथै अन्य सुरक्षाका उपाय अघि बढाइने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बराहक्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने रणनीतिअन्तर्गत सड़क, पदमार्ग र सूर्यकुण्डसम्म पहुँचमार्ग स्तरोन्नतिका लागि प्रदेश सरकारले सरोकार भएकासँग समन्वय र सहयोग गर्ने मुख्यमन्त्री कार्कीलेउल्लेख गर्नुभयो । प्रदेश र स्थानीय सरकारबीचको समन्वयलाई सुदृढ गर्दै धार्मिक पूर्वाधार विकासलाई अझ प्रभावकारी रूपमा अघि बढाइने उहाँले धारणा राख्नुभयो ।

कोकाहा खोलाको पानीलाई आधुनिक प्रविधिबाट प्रशोधन गरी धार्मिक प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले त्यसका लागि आवश्यक योजना अघि सारिएको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सतही ढाँचाबाट हटेर सम्मानजनक र सुरक्षित ढङ्गले प्रशोधन गरी प्रयोग प्रणालीमा ल्याउने र जल प्रशोधन संयन्त्र स्थापनाका लागि प्राविधिक पहल सुरु गरिने छ ।”

उपचारित तथा स्वच्छ पानीलाई धार्मिक अनुष्ठान, पूजाआजा, आरती र मन्दिर परिसरमा पवित्र उद्देश्यका लागि प्रयोग गर्न प्रोत्साहित गरिने प्रदेश सरकारको योजना रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यसले बराहक्षेत्र आउने श्रद्धालु र पर्यटकलाई विश्वसनीय, सुरक्षित र शुद्ध पानीको व्यवस्था गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । “धार्मिक सम्पदाको संरक्षणसँगै वातावरणीय सन्तुलन र आधुनिक प्रविधिको संयोजनमार्फत धार्मिक क्षेत्रको व्यवस्थित विकासमा प्रदेश सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं १ बराहबाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने, बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवा,र जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनालगायत स्थानीय जनप्रतिनिधिको उपस्तिथि थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>