राजनीति
मनिष झा भन्छन्– रास्वपा प्रदेशसभा खारेजीको पक्षमा छ

काठमाडौं, साउन ३-
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रदेश रहने तर प्रदेशसभा खारेज गर्ने रास्वपाको नीति रहेको प्रष्ट पारे ।
प्रदेशसभामा पुग्ने प्रदेशको स्थानीय तह बनाउने गरी आफूहरू अघि बढिरहेको बताए । पालिकाहरूको प्रतिनिधि पुगेर प्रदेशसभामा काम गर्ने व्यवस्था गर्ने उनको भनाइ छ ।
“प्रदेश रहन्छ तर हामी प्रदेशसभा खारेज गर्न चाहन्छौँ । त्यो प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह हुन्छ । पालिकाहरुको प्रतिनिधि पुगेर सभा गर्छन्,” उनले भने, “त्यसपछि प्रदेश र स्थानीयको तादम्यता एक अर्काको कोर्डिनेसन झनै प्रभावकारी हुन्छ ।”
रास्वपाले संघमा २१ वटा मन्त्रालयबाट १५ मा झार्ने योजनाअनुसार आफ्नो नीति अघि बढाइरहेको उनले जानकारी दिए ।
विभिन्न कालखण्डमा बनाइएका आयोगहरू खारेज गर्ने पक्षमा रास्वपा रहेको उनले बताए । “११२ वटा आयोग, नियोगहरू छन् । त्यो विभिन्न कालखण्डमा बनाइएको थियो,” उनी भन्छन्, “अहिले पनि त्यसको गाडी चल्ने, पदाधिकारी, कर्मचारी, अफिस खर्च छ । तर, त्यसको काम छैन । ११२ वटा आयोग बन्द गरिदिने बित्तिकै हाम्रो वार्षिक दुईरचार अर्ब खर्च बच्नेछ ।”
सांसद झाले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको आफ्नो योजना, सिद्धान्त, रणनीति केही नरहेको र रास्वपाका नेताहरूको जवाफ दिएर बस्ने काम गरिरहेको टिप्पणी गरे । —न्युज एजेन्सी नेपाल


























