चितवन विशेष
चितवनका दुई स्रष्टा जनही एक लाख पुरस्कारसहित संस्कृति मन्त्रालयबाट पुरस्कृत

मधुसूदन दवाडी,
चितवन, असार ३२-
चितवनका दुई स्रष्टाहरु प्रा. डा लक्ष्मणप्रसाद गौतम र उपन्यासकार रेशम विरही संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पुरस्कृत भएका छन् ।
संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डेले आज गौतमलाई निबन्ध बिधामा र विरहीलाई भाषा साहित्य सेवा विद्याबाट महाकवि देवकोटा राष्ट्रिय पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी जनही एक लाख रुपैयाँ रहेको छ । बागलुङमा जन्मिएर चितवनमा हुर्किएका गौतम त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापक हुन् । गौतमले एक दर्जन बढी समालोचनात्मक र अनुसन्धानमूलक पुस्तक प्रकाशित गरिसकेका छन् ।

त्यसैगरी गोरखाको हर्मीमा जन्मिएर चितवनलाई कर्मथलो बनाएका विरही ७३ वर्षको उमेरमा पनि त्यत्तिकै सक्रिय साहित्यकार हुन् । कवितासङ्ग्रह, निबन्ध र उपन्यास गरी एक दर्जन बढी पुस्तक प्रकाशित गरिसकेका विरहीको यही साउन महिनामा नयाँ उपन्यास ‘पाश्र्वध्वनि’ सार्वजनिक हुँदै छ । महाकवि देवकोटा राष्ट्रिय प्रतिभा पुरस्कार पाएपछि नारायणी अनलाइलाई प्रतिक्रिया दिँदै विरहीले लामो लेखन यात्रामा राज्यले उचित मूल्यांकन गरेको प्रतिक्रिया दिए । उनले भने, ‘ पुरस्कार सन्तोषको कुरा हो । मेरो लेखन यात्रा निरन्तर चलिरहन्छ ।’
गितानगरको अरुणोदय विद्यालयमा पढ्दादेखिनै कविता लेख्न थालेका विरही कविता, निबन्ध र उपन्यास विद्यामा उत्तिकै कलम चलाउँछन् । गोर्खा जिल्लामा जन्मिए पनि चितवन, नेपालगन्ज, काठमाडौँमा लगायत क्षेत्रमा यायावरीय जीवन बिताएका विरही साहित्य मात्र नभएर पत्रकारिता क्षेत्रमा चिरपरिचित छन् । क्यान्सरसँगको पैठजोरीमा समेत जित हासिल गरेका विरहीले ‘देब्रे आँखा’ (२०७२) र ‘सत्ता र स्वप्नदोष’ (२०७७) दुई निबन्ध सङ्ग्रह’, ‘प्रेमदासको डायरी’ (उपन्यास) र कली उपन्यास गरी एक दर्जन बढी पुस्तक लेखेका छन् । यो उमेरमा पनि यसरी लेखनमा सक्रिय हुनुको रहस्य उनले आफ्नो इच्छाशक्तिलाई मान्ने गर्छन् ।
























