राजनीति

घुस लिएको प्रमाणित भए नागरिकता त्यागेर देश छाड्छुः मन्त्री गुप्ता

Banner

काठमाडौं,असार २९-

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि लागेको घुस प्रकरणको खण्डन गर्दै उक्त आरोप प्रमाणित भए आफूले नागरिकता नै त्याग्ने घोषणा गरेका छन्। एक टेलिभिजन अन्तर्वार्तामा आक्रामक रूपमा प्रस्तुत भएका मन्त्री गुप्ताले आफूविरुद्ध सार्वजनिक भएको अडियो आफ्नो नभएको र यो आफ्नो राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र मात्र भएको दाबी गरे।

कर्मचारी सरुवा र भूमि आयोगको अध्यक्ष नियुक्तिमा घुस लेनदेन गरेको भन्दै करिब १० मिनेट लामो अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा तानिएका हुन्। सोही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परिसकेको छ। मन्त्री गुप्ताले भने, ‘मलाई तथ्य र प्रमाण दिनुस्, म अहिले राजीनामा दिन्छु। यदि त्यो अडियो मेरो हो भनेर प्रमाणित भयो भने। म राजनीति मात्र होइन, नागरिकता छोडेर नेपालै छोड्छु।’

उनले आफूविरुद्धको अडियो प्रविधिको दुरुपयोग गरेर बनाइएको हुन सक्ने संकेत गर्दै आफूले कसैबाट एक कप चियासमेत नखाएको दाबी गरे। ‘म टुँडिखेलमा झुन्डिन तयार छु तर मैले गल्ती गरेको छैन,’ उनले भने।

मन्त्री गुप्तामाथि दुईवटा प्रमुख आरोप लागेका छन्। पहिलो, मालपोत कार्यालय, कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्नका लागि ५३ लाख रुपैयाँ घुस लिएको र दोस्रो, एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गर्न २५ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएको हो।

असार १० गते नै अख्तियारमा दर्ता भएको उजुरीमा घुस रकम राखिएको भनिएका दुई झोला र नोटका बन्डलसहितको फोटो समेत समावेश गरिएको छ। अडियोमा एक महिला र बिचौलियासँग मन्त्री गुप्ताले आर्थिक लेनदेनको कुरा गरिरहेको सुनिन्छ।

सार्वजनिक अडियोमा मन्त्री गुप्ताले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको नाम समेत मुछेका छन्। ‘भन्दिनु त बलरामलाई,’ जस्ता संवादले अधिकारीको पनि संलग्नताको आशंका उब्जाएको छ। यद्यपि मन्त्री अधिकारीले भने आफूलाई यस विषयमा कुनै जानकारी नभएको र आरोप आधारहीन भएको प्रतिक्रिया दिएका छन्।

मन्त्री गुप्ताको घुस प्रकरण सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले गम्भीर चासो व्यक्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे बुझेर आवश्यक कदम चाल्ने तयारी गरेको स्रोतले जनाएको छ। उता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उजुरीका आधारमा छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>