राजनीति
काठमाडौं महानगरको बजेट आज आउँदै, पूर्वाधारमा उच्च प्राथमिकता

काठमाडौं,असार २९-
काठमाडौं महानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दैछ। बजेट आइतबार दिउँसो २ बजे नगर सभाको बैठकमा प्रस्तुत गरिनेछ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले शुक्रबार बसेको कार्यपालिका बैठकमा आइतबार बजेट ल्याउने निर्णय सुनाएका थिए। यसअघि महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले पूर्वाधारमा बजेट थप्ने निर्णय गरेको थियो ।
बालेनको अध्यक्षतामा काठमाडौं प्लाजामा बसेको उक्त बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ। प्रस्तावित बजेटको क्षेत्रगत बाँडफाँटमा पूर्वाधार विकासले सर्वाधिक प्राथमिकता पाएको छ। आगामी आर्थिक वर्षको बजेटमा ५१ प्रतिशत हिस्सा पूर्वाधार विकासका लागि छुट्याइएको छ।
अन्य क्षेत्रमा आर्थिक विकासतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १४ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ।


























