इच्छकामना

इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

Banner

कुरिनटार,असार २५-

चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ८७.२९ प्रतिशत पुँजिगत खर्च गरेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले खर्च विवरण सार्वजनिक गर्दै चालु खर्च भन्दा बढि पुँजिगत खर्च भएको जानकारी दिनुभएको हो । बस्नेतका अनुसार जम्मा ८५.५७ प्रतिशत खर्च भएकोमा चालुतर्फ ८४.२७ प्रतिशत र पुँजिगत खर्च ८७.२९ प्रतिशत भएको छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सहयोग पु¥याउने सम्पुर्णमा बस्नेतले धन्यबाद ज्ञापन गर्नुभएको छ ।

इच्छाकामनाले गतवर्ष पुँजिगत तर्फ ८३ प्रतिशत र चालुतर्फ ८७ प्रतिशत खर्च गरेको थियो । यस आर्थिक वर्षमा भुक्तानीका लागि कुनैपनि दायित्व सरेर नआएको भन्दै अधिकृत बस्नेतले कुनैपनि योजनाको म्याद थप गर्नु नपरेको जानकारी दिनुभयो । पालिकाले सबैभन्दा धेरै ६ करोड ७१ लाखको योजना सम्पन्न गरेको छ ।

आज यो आर्थिक वर्षको खर्च गर्ने अन्तिम दिन हो । राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने जनाइएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता सुशीला अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ का लागि सिर्जित दायित्वको बजेट रकम निकासा गर्ने आज अन्तिम दिन हो । आज रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टिएसए) र कम्प्युटरकृत सरकारी लेखाप्रणाली (सिगास) एक साताका लागि बन्द हुनेछन् ।

अघिल्ला वर्षमा मलेनिकाले सबै प्रलेनिका र कोलेनिकालाई असार अन्तिम साता बजेट निकासा रोक्न परिपत्र गर्ने गरेकामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र कार्यविधिमा भएको बाध्यकारी व्यवस्थाका कारण यस वर्ष परिपत्र नगरिएको अर्यालले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>