राजनीति
उद्धारका लागि सरकार युद्धस्तरमा लागेको छः प्रधानमन्त्री ओली

काठमाडौं,असार २४-
प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण रसुवाको ल्हेन्दे खोलासँगै भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको बताएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जालमार्फत उद्धारमा सरकारका तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको समेत जानकारी गराएका छन् ।
यस दुःखद क्षणमा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्यबारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु, प्रधानमन्त्री ओलीले भनेका छन्, विपद् सम्भावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ । सरकारी निकायहरूले उद्धारको काम गरिरहेका छन् । त्यसमा सबैको सहयोगको अपेक्षा गर्दछु ।
प्रधानमन्त्री ओलीले बाढीले केही नागरिकको ज्यान गएको र केही बेपत्ता भएको दुःखद खबर आएको र ठूलो भौतिक क्षति पुगेको आफूले जानकारी पाएको बताएका छन् । उनले बाढीमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपद्को पीडामा रहेका नागरिकप्रति सहानुभूति प्रकट पनि गरेका छन् । रासस


























