राजनीति
राम नेपालमै जन्मिएका हुन्ः प्रधानमन्त्री ओली

काठमाडौं, असार २३-
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भगवान् रामको जन्म भएको यथार्थ भन्न डराउनु नपर्ने बताएका छन्। नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उनले राम नेपालमा जन्मिएको आफ्नो दाबीलाई दोहोर्याएका हुन् ।
यसअघि पनि पटक पटक प्रधानमन्त्री ओलीले भगवान श्रीरामको जन्मभूमि चितवनका माडीस्थित ठोरीमा भएको दाबी गरेका थिए । उनले भने, ‘हामी पर्यटनका कुरा गर्छौं तर नेपालमा राम जन्मिएका, अन्त कसैले भन्नुपर्यो नि, त्यत्तिकै कथा हालेर हुन्छ फलानु ठाउँमा जन्मिएको भनेर ।’
उनले कोही रिसाउँछ कि भनेर सत्य कुरा बोल्न डराउन नहुने तर्क गरे । ‘राम भगवान हुन् भने मान्नु नमान्नु आफ्नो कुरा हो । जसले रामलाई भगवान मान्छ रामको जन्मभूमि पवित्र ठाउँ हो’ उनले भने, ‘यति प्रचार गर्न सक्दैनौं हामी, यति भन्न सक्दैनौं, यति आँट गर्दैनौं । अप्ठेरो लाग्छ । को रिसाउँछ जस्तो लाग्छ ।’


























