राजनीति
मलाई स्पष्टीकरण सोधिएको छैनः नेता झाँक्री

काठमाडौं, असार १९-
पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले बताएकी छिन् ।
पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता झाँक्रीले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको जिकिर गरिन् ।
अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूला केही नेताहरूले टेलिभिजनबाट स्पष्टीकरण सोधेको भनेर हल्ला फिँजाएको उनले बताइन् ।
‘के भनिन् झाँक्रीले ?
स्पष्टीकरण त मिडियातिर सोध्नुभएको रहेछ केही शक्तिशाली पदाधिकारीहरूले। मलाई त स्पष्टीकरण सोधेको छैन। मैले पनि आज मिडियामा बिहानभरि कान पाकुन्जेल त्यही कुरा सुनेँ।
म त यहीँ पार्टीको सदस्य, उहाँहरूले टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ आदि भनेको सुनेको थिएँ, त्यो मैले बोलेको कन्टेन्टको हिसाबले।
आज सचिवालयको बैठक । फेरि पार्टीले १५ गते यस्तो विषयमा क्रिया प्रतिक्रिया नगर्नु भनेर निर्देशन पनि जारी गरेको थियो। त्यो निर्देशन पछि उहाँहरूलाई झन् प्रोत्साहन गरेजस्तो भयंकरै बोल्नुभएको छ।
उहाँहरू व्यक्तिगत तहमा पनि गालीगलौजदेखि लिएर ‘बडी सेमिङ’ मा बोलिरहनुभएको छ । अनि त्यत्रो जिम्मेवार पदाधिकारीहरू यो बोलिरहेको विषयमा चाहिँ के हो त, स्पष्टीकरण मलाई पनि नसोध्ने, बाहिर बाहिर सोध्ने, के हो कुरारु तपाईंहरूको बैठकमा चाहिँ मलाई बोलाउनुहोस्, म त्यसको जवाफ सविस्तार दिन्छु। म कुन कन्टेक्स्टमा बोलेँ, कुन कन्टेन्टमा बोलेँ, मेरो भनाइ के हो र त्यो गलत हो भने कसरी हो, त्यसमा म हरप्रकारको तथ्य प्रमाणसहित म बैठकमा उपस्थित भएर बोल्छु।
मेरो तहको बैठक बोलाउनलाई अझै टाइम लाग्छ होला। त्यतिन्जेल पार्टीलाई पनि, व्यक्तिलाई पनि धेरै क्षति हुने काम भइरहेको छ। यो रोक्नको लागि आजैको यो सचिवालयको चालु बैठकमा मलाई बोलाउनुहोस्, म मेरो विषयको स्पष्ट त्यहाँ गर्छु भनेर मैले चाहिँ एउटा निवेदन लिएर आएको हुँ।
कन्टेन्टमा अहिले कुरा नगरौँ। कन्टेन्टमा मैले अर्कै सन्दर्भमा कुरा गर्छु। मैले प्रोसेसको मात्रै कुरा गरेँ। मैले एउटा कार्यकर्ता भेलामा बोलेँ। बोलेको विषयको क्रिया प्रतिक्रिया मात्रै होइन, पार्टीको ध्यानाकर्षण भएर निर्देशन जारी गर्यो सार्वजनिक हिसाबले।
त्यसपछि मैले सार्वजनिक रूपमा कहीँ आफ्नो कमेन्ट, स्पष्टीकरण दिइनँ। तर यहाँ पार्टीका धेरै ठूला नेताहरू, शक्तिशाली पार्टीभित्रका नेताहरूले सोसल, मिडियामा, सोसल मिडियामा, भर्चुअल प्लाटफर्ममा गएर विविध खालका कुराहरू बोलिरहनुभएको छ।
त्यो बोलेको विषयका प्रति चाहिँ म व्यक्तिगत हिसाबले लडाइँ त लड्छु नै। तर राजनीतिक हिसाबको विषयमा पनि म प्रतिवाद गर्छु। तर मैले भनेका कुराको स्पष्टीकरण बैठकमा दिन्छु म।
म के प्रसंगमा कसरी बोलेँ, के विषय थियो त्यो, कुन कन्टेक्स्ट थियो भन्ने कुरा बैठकमा मेरा कुरा राख्छु। तर मलाई स्पष्टीकरण सोधेको भनेको कुरा निराधार, कपोलकल्पित, हावा कुरा हो। मलाई उहाँहरूले कुनै स्पष्टीकरण दिनुभएको पनि छैन। दिने निकाय को हो, त्यो पनि थाहा छैन।
उहाँको कुन तहको बैठकको निर्णयले दिनुभएको हो, त्यो थाहा छैन। खाली दुई(तीन जना मान्छेहरूले टिभीमा गएर स्पष्टीकरण सोधियो, लियो भन्ने कुरा गर्नुभएको छ। त्यो गलत हो भन्न चाहन्छु।


























