चितवन विशेष
चितवनमा ८० जना साहित्यकारहरुको जीवनी समेटिएको पुस्तक सार्वजनिक

मधुसूदन दवाडी
चितवन, असार १४-
चितवनका अग्रज साहित्यकार रविकिरण निर्जीवको चितवनका ८० जना साहित्यकारहरुको जीवनी समेटिएको नयाँ पुस्तक ‘दिवङ्गत स्रष्टा स्मृति दर्पण’ सार्वजनिक भएको छ ।
निर्जीव र उनकी पत्नी विष्णुमाया रेग्मी ८० वर्ष प्रवेश गरेको अवसरमा सो पुस्तक आज भरतपुरको कृष्णपुरमा सार्वजनिक गरिएको हो । राजनीतिक चिन्तक तथा लेखकका गुरु यमुनाप्रसाद न्यौपाने, स्रष्टाहरु मुक्ति प्रधान, पदममाणि लामिछाने र पुस्तक लोकार्पण कार्यक्रमका अध्यक्ष काका नेपालीले संयुक्तरुपमा सो पुस्तक सार्वजनिक गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि ८७ वर्षीय राजनीतिक चिन्तक यमुनाप्रसाद न्यौपानेले साहित्यकार निर्जीव चितवनका दिवङ्गत साहित्यकारहरुको जीवनी प्रकाशन गरेर आफूलाई आजबाट सजिव बनाएको विचार राखे । यो उमेरमा कार्यक्रमको प्रमुख अतिथि बन्न पाउँदा धेरै खुसी लागेको उनले बताए । पुस्तकको समालोचना गर्दै प्राध्यापक डा.नारायणप्रसाद खनालले ८० जना दिवङ्गत साहित्यकारहरुको जीवनीहरुको सङ्ग्रह अध्ययन र अनुसन्धानको लागि उपयोगी बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘रविकिरणले पुस्तकमार्फत् निर्जीव भएका स्रष्टालाई सजिव बनाउनु भएको छ । पुस्तक समीक्षा गर्न लायक र समालोचनात्मक बनेको छ । यो उमेरमा जसरी अध्ययन अनुसन्धान गरेर रविकिरणले पुस्तक ल्याउनु भयो यसले भावी पुस्तालाई थप प्रेरणा दिन्छ ।’
पुस्तकका प्रकाशक,संकलक तथा सम्पादक रविकिरण निर्जीवले सबै ८० जना जीवनी लेखकहरु पुस्तकको जग र आफू धुरी भएको विचार राखे । उनले कतिपय दिवङ्गत लेखकहरु पुस्तकमा छुट्न गएकोमा दुःख व्यक्त गरे । ८० वर्ष पूरा भएका उनले थप २० वर्ष विभिन्न पुस्तक लेखेर नै बाँच्ने योजना पनि प्रस्तुत गरे । लेखक निर्जीवले भने, ‘आफ्नो गुरुको हातबाट पुस्तक लोकार्पण गर्न पाउँदा धेरै खुसी भएको छु । सम्पूर्ण गुरुहरु गंगा हुन्, मेरो मार्गदर्शक हुन् ।’
कार्यक्रममा साहित्यकार शशिकिरण रेग्मीले शुभकामना मन्तव्य राख्दै चितवनका ८० जना स्रष्टा खोजेर, लेखकहरुलाई अनुरोध गरेर पुस्तक तयार गर्नु निकै कठिन काम भएको बताए । पुस्तक पढ्दा चितवनको सामाजिक रुपान्तरणमा धेरै अग्रजहरुको योगदान र संघर्ष रहेको तथ्य स्पष्ट हुने उनले बताए । यस प्रकारको नविनतम कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने उनको विचार थियो ।
‘दिवङ्गत स्रष्टा स्मृति दर्पण’मा चितवनका अग्रज र नयाँ गरी ८० जना लेखकले ८० जना साहित्यकारहरुको जीवनी तयार पारेका छन् । यसको संकलन र सम्पादन रविकिरण निर्जीवले गरेका हुन् । सम्पादक स्वयं आफै प्रकाशक रहेको यो पुस्तक ८० औं जन्म वर्ष प्रवेश चौरासी पूजन काब्य कृति भनेर व्याख्या गरिएको छ । २०६ पृष्ठ रहेको पुस्तकमा चितवन इच्छाकामनाका गीतकार आइतबीर चेपाङदेखि स्वर्गीय पत्रकार द्वारिका नेपालसम्म ८० जनाको जीवनी प्रस्तुत गरिएको छ ।
लमजुङको अलैँचेमा जन्मिएका निर्जीवले आधा दर्जन बढी पुस्तक सम्पादन गर्नुको साथै गीत, कविता, उपन्यास, निबन्ध गरी १३ वटा पुस्तक लेखेका छन् । विसं २०२३ सालमा ‘नवजीवनको फूलबारी’ कवितासङ्ग्रह प्रकाशित गरेर साहित्य क्षेत्रमा होमिएका निर्जीवले देश तथा विदेशमा गरेर एक दर्जन बढी सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । सेवा निवृत्त शिक्षक रहेका उनी अहिले भरतपुर महानगरपालिका–१२ का स्थायी बासिन्दा हुन् ।























