राजनीति
एसईईमा ग्रेड प्राप्त विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्रीले भनेः नतिजा सुधार्न गरेको मिहेनत काम लाग्यो

काठमाडौं,असार १३-
प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई ज्ञापन गरेका छन्। सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले एसईईमा ग्रेड नपाउने विद्यार्थीहरुले यसलाई नै अन्तिम परीक्षा नठान्न र सफलताको अर्को दिन आउने बताएका छन्। प्रधानमन्त्री ओलीले एसइई परीक्षाको नतिजा सुधार गर्न आफूले गरेको मेहिनतले काम लागेको बताए।
‘यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुभएको छ। गतवर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नुभएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडेड रहनुपरेको थियो। बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहिनत काम लागेको छ। ग्रेड नपाउने विद्यार्थीहरुले यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन आउने छ। सबै भाइबहिनीहरूलाई बधाई १’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रधानमन्त्री ओलीले विद्यार्थी नानीबाबुको मेहिनत सफल भएको र अब भविष्य निर्माणको अर्को यात्रा सुरू गर्न आग्रह गरेका छन्। रासस


























