चितवन विशेष
सुनमा कर बढाएको विरोधमा चितवनका सुनचाँदी व्यवसायी

चितवन, जेठ २९–
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले सरकारले ल्याएको नयाँ बजेट अव्यवहारिक भएको भन्दै विरोध जनाएको छ । संघले नारायणगढमा (आज) पत्रकार सम्मेलनको आयोजना गरी सुन तथा सुनका गहनामा लागू गरिएको कर नीति अव्यवहारिक भएको भन्दै विरोध जनाएको हो ।
सरकारले सुनचाँदी, हिरा, जवारहतरा तथा हस्तकला व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्ष रुपमा असर पर्ने गरी विलासिता शुल्क र भ्याटको नाममा चर्को भार पार्न खोजेको संघका अध्यक्ष हेम बहादुर विश्वकर्माले बताउनुभयो । सुन विलासिताको वस्तु नभई नेपाली धर्मसंस्कृति अनुसार अत्यावश्यक वस्तुका रुपमा हेरिने भएकाले सरकारले सुनमा लगाइएको कर तत्काल खारेज गर्नुपर्ने उहाँले बताउनुभयो । सुनमा कर लगाउँदा व्यवसायीलाई मात्र नभई उपभोक्तालाई असर पर्ने उहाँको भनाई छ । यस करले उपभक्तालाई प्रतितोला १२ हजार रुपैयाँसम्म बढी भार पर्ने व्यवसायीले बताएका छन् ।
यस्तै सरकारले बजेट मार्फत जारी गरेको हिरा तथा बहुमल्य पत्थरमा १३ प्रतिशत मुल्य अभिबृद्धि करले उपभोक्तालाई अझ थप महङ्गीको भार बोकाउन खोजिएको उनीहरुको आरोप छ । हिरा जवाहरात जडित गहनारात जडित गहनामा लागु गरिएको मुल्य अभिबृद्धि कर तत्काल पुनबिचार गरी खारेज, सुनका गहनामा गरिएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने माग समेत राखेका छन् । साथै व्यवसायीले छिमेकी मुलुक भारतमा सरहनै नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम गर्न माग गरेका छन् । यसैबिच व्यवसायीले हातमा कालोपट्टी बाधेर विरोध समेत गरेका छन् ।
























