चितवन विशेष
सप्तगण्डकी क्याम्पसमा वातावरण संरक्षणसम्बन्धी सचेतना

चितवन, जेठ २२-
चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसमा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा सप्तगण्डकी बहुमुखी क्याम्पस वातावरण विज्ञान विभागको आयोजना र सप्तगण्डकी क्याम्पस प्राध्यापक संघको सहयोगमा वातावरण संरक्षणसम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।
सोही अवसरमा क्याम्पसका विद्यार्थी, प्राध्यापक र कर्मचारीहरुले क्याम्पस वरपरको क्षेत्रको सरसफाइ गरेका थिए । त्यसैगरी स्नातक तहमा वातावरण विज्ञान अध्ययनरत विद्यार्थीहरुले ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ विषयमा आधारित भएर सचेतामूलक प्रस्तुतिकरण दिएका थिए । प्रस्तुतिकरण कार्यक्रममा दिपशिखा राखल मगर पहिलो, शुभेच्छा अधिकारी र नन्दनी कुमारी चौधरी दोस्रो, अस्मिता शर्मा तेस्रो र शर्मिला रायमाझी चौथो भएका थिए । उत्कृष्ट हुने विद्यार्थीहरुलाई वातावरण विज्ञान विभाग प्रमुख रविराज सुवेदी, प्राध्यापक संघकी उपाध्यक्ष गंगादेवी भट्टराई सुवेदी, प्राध्यापक संघकी कोषाध्यक्ष लक्ष्मी पोखरेलले संयुक्तरुपमा पुरस्कार प्रदान गरे । विद्यार्थीहरुको सचेतनामूलक प्रस्तुतिको निर्णायकमा वातावरण विज्ञान विभागका प्राध्यापकद्वय केशव आचार्य र सुरज न्यौपाने रहेका थिए । आचार्यले विद्यार्थीहरुले विश्वमा भएको वातावरण क्षेत्रका पछिल्ला अनुसन्धानहरुको निष्कर्षलाई आफ्नो प्रस्तुतिमा राखेर उत्कृष्ट कार्य गरेको जानकारी दिए ।
विद्यार्थीहरुले नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्जमा थुप्रिँदै गएको प्लास्टिकजन्य फोहोरले पार्न सक्ने सम्भावित जोखिमबारे सबैलाई सचेत गराएका थिए । कार्यक्रममा वातावरण विज्ञानका प्राध्यापक ध्रुव आचार्यले संयुक्त राष्ट्रसंघले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको बताए । उनले राष्ट्रसंघले गरेको अनुसन्धानका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा बिसर्जन हुने गरेको तथ्य प्रस्तुत गरे । उनले प्लास्टिकजन्य वस्तुको प्रयोगको न्यूनीकरणमा आफ्नो घरबाट हरेक व्यक्ति सचेत हुनुपर्ने विचार राखे ।
वातावरण विज्ञान विभागका प्रमुख सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापन विभागका प्राध्यापक नरेन्द्र कँडेल, प्राध्यापक संघकी उपाध्यक्ष भट्टराई, पत्रकारिता तथा आमसञ्चार विषयका प्राध्यापक मधुसूदन दवाडीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
























