चितवन विशेष

विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम

Banner

चितवन, जेठ १७-

‘विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम’ अन्तर्गत भरतपुर–१२ मा आगो र पानीबाट बच्ने सैद्धान्तिक तथा व्यवहारिक तालिम प्रदान गरिएको छ । भरतपुर–१२ स्थित हाम्रोटोल टोल विकास संस्थाले विपद् व्यवस्थापनप्रति समुदायमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा आगलागी नियन्त्रणका उपाय, ग्यास र पेट्रोलबाट लाग्ने आगो निभाउने तरिका तथा बाढी, डुबान र पानीबाट हुन सक्ने जोखिमबाट जोगिने उपायहरूबारे सैद्धान्तिक जानकारीका साथै व्यावहारिक अभ्यास गराइएको थियो । भरतपुरको आँपटारीमा रहेको सशस्त्र प्रहरी बल नेपाल १७ नम्बर गणको समन्वयमा आयोजित तालिममा प्रशिक्षकहरूले विभिन्न विपद् अवधिमा अपनाउनुपर्ने सावधानी, प्राथमिक उपचार, सुरक्षित स्थानमा पुग्ने तरिका तथा उद्धार कार्यको चरणबद्ध अभ्यासको प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै टोलका पूर्वअध्यक्ष कृष्णप्रसाद न्यौपानेले विपद् कहिले र कसरी आउँछ भन्ने अनुमान गर्न नसकिने भन्दै हामी तयार भएमा त्यसबाट हुने हानी न्यूनीकरण गर्न सकिने बताउनुभयो । कार्यक्रममा एन्टिबायोटिकको प्रयोग र यसको असरको बारेमा श्री मेडिकल कलेजमा बि फारमेसीको छैठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले प्रकाश पारेका थिए । तालिममा १२ वर्षभन्दा माथिका स्थानवासीलाई लक्षित गरी खुला आह्वान गरिएको थियो, जसमा १०० भन्दा बढी सहभागीहरू थिए ।

सहभागीहरूले आगलागी हुँदा प्रयोग हुने आगो निभाउने यन्त्रको सही तरिका, भान्छाबाट हुने आगलागी नियन्त्रण, इलेक्ट्रिक सट सर्किटबाट हुने आगलागी नियन्त्रण जीवन रक्षाको प्राथमिक सीपहरु उद्धारका उपायहरू समेत अभ्यास गरेका थिए । कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष रोहित बहादुर गुरुङ र कार्यक्रम सञ्चालन सचिव ईश्वर चन्द्र पौड्यालले गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>