चितवन विशेष
कोरिया नेपाली एकता समाजद्धारा मृगौला पीडित थापालाई आर्थिक सहयोग

चितवन, वैशाख ३०-
कोरिया नेपाली एकता समाजले मृगौला पीडित नगेन्द्र थापालाई आर्थिक सहयोग गरेको छ । बाग्लुङको जैमिनी नगरपालीका वडा नं १० स्थित राङखानी घर भएका थापालाई चितवनमा आज एक कार्यक्रमका बिच आर्थिक सहयोग गरिएको हो ।
कोरियामा काम गरिहेका नेपालीद्धारा संकलन गरिएको दुई लाख ७६ हजार रुपैयाँ राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुंगानाले पीडित थापालाई हस्तान्तरण गर्नुभएको हो । हस्तारन्तरण गर्दै उहाँले थापाको उपचारका लागि रकम अभाव हुन नदिनका लागि अभियान सञ्चालन गरिने समेत बताउनुभयो । उहाँले बिरामीको उपचारका लागि रकम संकलन गरेर पठाएकोमा कोरिया नेपाली एकता समाजलाई धन्यवाद समेत दिनुभयो ।
दक्षिण कोरियामा रहँदा विभिन्न संघसंस्था र कला साहित्यमा समेत आफ्नो अमुल्य योगदान दिएका थापाको उपचारको लागि समाजले रकम संकलनको अभियान समेत सञ्चालन गरेको थियो । सो क्रममा विभिन्न संघसंस्था तथा व्यक्तिमार्फत संकलन भएको रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
दश वर्ष कोरियामा बसेका थापाले नेपालमा आएर उद्योग सञ्चालन गर्नुभएको थियो ।
उपचार खर्चिलो भएपछि उद्योग समेत अहिले बन्द अवस्थामा रहेको छ । पोखराको मनिपाल अस्पतालमा उपचारत डायलासिस गर्नुभएका थापाको जेठ ९ गते गण्डकी मेडिकल कलेज मृगौला प्रत्यारोपण हुँदैछ । उहाँलाई आफ्ना बुवाले मृगौला दिँदै हुनुहुन्छ । त्यसका लागि दश लाख रुपैयाँ संकलन गर्न कलेजले अनुरोध गरेको बिरामी थापाले बताउनुभयो । उहाँले आफ्नो उपचारमा आर्थिक तथा सामाजिक सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत व्यक्ति गर्नुभयो । रकम हस्तान्तरण कार्यक्रममा अखिल नेपाल किसान संघ बाग्लुङका सचिव विरेन्द्र थापा, राष्ट्रिय जनमोर्चा कृष्ण केसी, अखिल नेपाल ट्रेड युनियन महासंघको सल्लाहाकार कृष्ण सुवेदी, तुल बहादुर भण्डारी, रवि शंकर चालिसे लगायतको उपस्थिती रहेको थियो ।



























