क्रिकेट

यु–१६ चितवन क्रिकेट छनोट बिहीबारदेखि, ट्रफी र जर्सी सार्वजनिक

Banner

चितवन, वैशाख २३–

चितवन जिल्ला क्रिकेट संघको आयोजनामा ‘यु–१६ जिल्ला छनोट प्रतियोगिता’ बिहीबारदेखि सुरु हुने भएको छ ।

आज (मंगलबार) ट्रफी तथा जर्सी सार्वजनिक गर्दै संघले वैशाख २५ देखि २८ गतेसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा छनोट प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो । संघका अध्यक्ष सुदिप पियाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । प्रतियोगितामा नगद पुरस्कार नभए पनि व्यक्तिगत विधामा खेलाडीहरुले अवार्ड प्राप्त गर्ने पियाले बताउनुभयो । प्रारम्भिक चरणमा सहभागि १३१ जना खेलाडीबाट ५६ जना खेलाडीलाई दोस्रो चरणमा लगिएको पियाले बताउनुभयो । ‘युवा खेलाडीहरुको संख्या बढेको देख्दा निकै उत्साहित भएको छु, हामीलाई ५६ जना खेलाडी छान्न निकै कठिन भयो, यो क्रिकेट प्रतिको बढ्दो मायाको रुपमा बुझेको छु’–अध्यक्ष पियाले भन्नुभयो ।

प्रतियोगितामा १२ वर्षमुनिका खेलाडीले सहभागिता जनाउन पाउने छैनन् भने १६ वर्ष पुरा नभएका २०६५ भदौ १६ गतेदेखि जन्मिएका खेलाडीले सहभागिता जनाउन पाउने छन् । नारायणगढस्थित क्याम्पाचौरमा गरिएको प्रारम्भिक छनोट चरणमा ५६ जना खेलाडीलाई दोस्रो चरणका लागि छनोट गरिएको हो । चितवन जिल्ला क्रिकेट संघका कार्यसमिति सदस्य तथा नेपालका पूर्व कप्तान राजु खड्का प्रमुख छनोट रहेको टिमले दोस्रो चरणका लागि खेलाडी छनोट गरेको हो । उनीहरुलाई ४ टिममा विभाजन गरिएको छ । चार टिमको नाम ‘रेड नाइट्स’, ‘ग्रीन ग्लाडियटर्स’, ‘ब्लु स्टार्स’ र ‘मरुन मेट्स’ राखिएको छ । ती ४ टिमले भरतपुर–१५, स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुने अन्तिम छनोट प्रतियोगितामा एकआपसमा भिड्ने छ ।

४ टिमको कप्तान समेत घोषणा गरिएको छ । ‘रेड नाइट्स’को कप्तानमा उमेर समूहमा राष्ट्रिय टिमबाट खेलिसकेका ओपनर ब्याटर सूर्याशु कोइराला रहेका छन् । मरुन मेट्सको कप्तानमा कृष्ण भण्डारी, ब्लु स्टारको कप्तानमा सरिश रखाल र ग्रीन ग्लाडियटर्सको कप्तानमा सन्देश सुवेदी रहेका छन् । २० ओभरमा खेलाइने प्रतियोगितामा सबै टिमले समान ३–३ खेल खेल्ने छन् । यस प्रतियोगिताबाट चितवन जिल्ला टिम निर्माण गरिने छ । प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । पहिलो दिनको पहिलो खेलमा रेड नाइट्स र ग्रीन ग्लाडियटर्सबीच विहान ८ बजे प्रतिस्पर्धा हुनेछ । सोही दिन दिउँसो ३ बजेदेखि दोस्रो खेलमा ब्लु स्टार र मरुन मेट्सबीच प्रतिस्पर्धा हुने संघका सचिव सुरज ज्ञवालीले जानकारी दिनुभयो ।

ट्रफी र जर्सी सार्वजनिक

चार दिनसम्म चल्ने प्रतियोगिताको ट्रफी अनावरण गरिनुको साथै चारै टिमको जर्सी समेत सार्वजनिक गरिएको छ । सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर प्रा.लि.का प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेल र चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले संयुक्त रुपमा ट्रफी र जर्सी सार्वजनिक गर्नुभयो । सो क्रममा बोल्दै सेन्ट्रल कलेजका प्रिन्सिपल पौडेलले चितवन र नवलपुरमा खेल क्षेत्रका लागि कलेजले सक्दो सयोग गर्दै आइरहेको बताउनुभयो । पछिल्लो समय क्रिकेटमा युवाहरुको क्रेज बढ्नुको साथै सफलता समेत हात पार्न थालेपछि यस खेललाई कलेजले विशेष प्राथमिकताका साथ राखेर अघि बढेको बताउनुभयो ।

संघका अध्यक्ष सुदिप पियाले प्रतियोगिता सफल बनाउन सबै लागि परेको बताउनुभयो । उहाँले सिमित स्रोतसाधनकाबीचमा यो प्रतियोगिता गर्न लागिएको भन्दै यसबाट चितवन जिल्लाले राम्रो खेलाडी पाउनेमा विश्वास व्यक्त गर्नुभयो । स्वागत मन्तव्य व्यक्त गर्दै संघका उपाध्यक्ष उमेश पियाले युवा खेलाडीहरुलाई अगाडि बढाउन यो प्रतियोगिता महत्वपूर्ण रहेको भन्दै प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने सबै क्षेत्रलाई धन्यवाद ज्ञापन गर्नुभयो । संघका सचिव सुरज ज्ञवालीले वैशाख २८ गते भित्रमा क्यानले पत्रचार गरेकाले सोही अनुसार प्रतियोगिता सफल बनाउन संघ लागि परेको बताउनुभयो । कार्यक्रममा संघका कोषाध्यक्ष अर्जुन केसी, सदस्य प्रशान्त कुमार पिया, माडी संयोजक महादीप श्रेष्ठ, सेन्ट्रल कलेजका भाइस प्रिन्सिपल ऋषि भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

एसियन क्रिकेट काउन्सीलको कार्यक्रम अनुसार जुन २०२५ मा संचालन हुन लागेको एसीसी पुरुष यु–१६ इस्ट जोन कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो जेठ दोस्रो सातादेखि यु–१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । त्यस अनुरुप यही वैशाख २८ गतेभित्रमा यु–१६ जिल्ला छनोट प्रतियोगिता आयोजना गर्न निर्देशन बमोजिम चितवन जिल्ला क्रिकेट संघले ‘यु–१६ चितवन जिल्ला छनोट प्रतियोगिता’ आयोजना गर्न लागेको हो ।

प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर प्रा.लि. रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>