चितवन विशेष
विद्यालयलाई कालिका नगरपालिकाको शिक्षकलाई निर्देशन ‘वैशाख १५ गतेदेखि नियमित कक्षा सञ्चालन गर्नु’

चितवन, बैशाख १२-
चितवनको कालिका नगरपालिकाले सामुदायिक विद्यालयलाई कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । नगरपालिकाका प्रशासकीय अधिकृत देवराज चौलागाईले आज (शुक्रबार) एक विज्ञप्ती जारी गर्दै सामुदायिक विद्यालय विद्यालयका शिक्षकलाई कक्षा सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
नगरपालिका प्रमुख विनोद रेग्मीको आदेश अनुसार बैशाख १५ गतेदेखि विद्यार्थी भर्नासँगै नियमित रुपमा पठनपाठन प्रक्रिया अगाडि बढाउन विद्यालयलाई अनुरोध गरिएको प्रशासकीय अधिकृत चौलागाईले जानकारी दिए ।
सामुदायिक विद्यालयमा शैक्षिक आन्दोलनको कारण वैशाख २ गतेदेखि सञ्चालन हुने विद्यार्थी भर्ना अभियान हालसम्म प्रभावित भइरहेको छ । ‘विद्यालयमा समयमा भर्ना भै अध्ययन गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न नगरप्रमुखको आदेश अनुसार बैशाख १५ गतेदेखि विद्यार्थी भर्नासँगै नियमित रुपमा पठनपाठन प्रक्रिया अगाडि बढाउन अनुरोध छ’–चौलागाईले लेखेको पत्रमा उल्लेख छ ।
शिक्षकहरुले विद्यालय शिक्षा ऐन लागू हुनुपर्नेलगायतका माग राख्दै चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका छन् । उनीहरुले शिक्षा ऐन जारी नभई नफर्किने भन्दै आन्दोलन जारी राखेका हुन् । निजी विद्यालयमा भने धमाधम कक्षा सञ्चालन भइरहेको छ ।