मकवानपुर
बागमती प्रदेशका खेलकुद पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रम

हेटौंडा, वैशाख ११–
प्रदेश खेलकुद विकास परिषद् बागमतीले खेलकुद पत्रकारहरुको क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । प्रदेश भित्रका पत्रकारहरुलाई समेट्दै हेटौंडामा दुइ दिने खेलकुद पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम गरिएको हो ।
समापन समारोहमा बौल्दै प्रमुख अतिथि प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव दीपक लामाले क्षमता अभिवृद्धि कार्यक्रमले खेलकुदका गतिविधिलाई उजागर गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘अहिले मोफसल भन्ने नै छैन, सबै पत्रकार अब्बल हुनुहुन्छ, यो तालिमले अझै तपाईहरुको कलममा निखारता ल्याउनेमा विश्वास छ’–सदस्य सचिव लामाले भन्नुभयो । उहाँले आगामि दिनमा यस खालको प्रशिक्षण कार्यक्रमलाई नियमित समेट्ने गरी कार्यक्रम अगाढि बढाइने बताउनुभयो ।
प्रदेश खेलकुद विकास परिषद् बागमतीका कार्यालय प्रमुख सूर्यबहादुर लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार नविन अर्याल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा हाम्रो खेलकुद डटकमका प्रधान–सम्पादक तथा वरिष्ठ पत्रकार प्रकाश तिमिल्सिना, रेडियो कान्तिपुरका स्टेशन म्यानेजर वरिष्ठ पत्रकार पवन आचार्यले खेलकुद समाचार लेख्ने तरिका र अनुभव प्रदान गर्नुभएको थियो । यस्तै सोही तालिममा मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण समेत दिइएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका मकवानपुर, चितवन, काभ्रे, धादिङ, नुवाकोट, रामेछाप लगायत १३ जिल्लाका ५० भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको मंगलबार बागमती प्रदेशका खेलकुद मन्त्री मिनकृष्ण महर्जनले समुद्घाटन गर्नुभएको थियो । सो क्रममा उहाँले खेलकुद क्षेत्रलाइ सरकारले नै कम प्राथमिकतामा राख्दा खेलाडीहरु पलायन हुनुपर्ने अवस्था आएको बताउनुभएको थियो ।