चितवन विशेष
महिनावारी सुक्ने उमेरका महिलाका लागि पुष्पाञ्जली हस्पिटलमा विशेष क्लिनिक

चितवन, चैत २९-
महिलाहरुको महिनावारी सुक्ने बेला र सुकेपछि देखिने स्वास्थ्य समस्यालाई लक्षित गर्दै भरतपुरमा विशेष छुटसहित विशेष क्लिनिक सञ्चालन हुने भएको छ ।
चितवनको भरतपुर–१० बालमन्दिर रोड स्थित पुष्पाञ्जली हस्पिटल प्रालिमा भोलि शनिबार महिनावारी सुक्ने बेलाका महिलाहरु लक्षित विशेष क्लिनिक सुरु हुन लागेको हो । अस्पतालका वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाकाअनुसार क्लिनिक बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ । क्लिनिकमा स्वास्थ्य परीक्षणका लागि ओपिडी टिकटमा ५० प्रतिशत छुट तथा प्रयोगशालामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको सापकोटाले बताउनुभयो ।
महिनावारी सुक्ने बेलामा र सुकेपछि महिलाहरुमा विभिन्न समस्या देखिने भन्दै त्यस्तो बेलामा जथाभावी औषधि प्रयोग गर्न नहुने उहाँले बताउनुभयो । “यस बेलामा महिलाहरुलाई अचानक गर्मी हुने, पसिना आउने र शरीर रातो हुने, यौनाङ्ग वरिपरी सुख्खा र अप्ठेरो महसुस हुने जस्ता लक्षण देखिन सक्छन्” उहाँले भन्नुभयो, “त्यस्तैगरी, पिसाब पोलेजस्तो हुने र छिटो–छिटो पिसाब गर्न जान मन लाग्ने, रिस उठ्ने, चिन्ता बढ्ने, दिमाग एकाग्र गर्न गाह्रो हुने र छिट्टै बिर्सने, तौल बढ्ने विशेष गरी पेट वरिपरि मोटोपन देखिने, निन्द्रा कम पर्ने र थकान महसुस हुने जस्ता समस्या देखिन सक्छन् ।” यस्तो समस्या भएका महिलाहरुले विशेष क्लिनिकमा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो ।
“महिनावारी बन्द हुने बेलामा देखिएको स्वास्थ्य समस्याबारे जानकारी नभएर जथाभावी औषधि सेवन गर्दा स्वास्थ्य समस्या पर्नसक्छ” उहाँले भन्नुभयो, “यस्तो समस्याहरु हर्मोनको कमीले गर्दा देखिने हुन्, समयमै उपचार गरेमा यसको उपचार सम्भव छ ।” त्यसैगरी महिनावारी रोकिएपछि वा रोकिने बेलामा महिलाहरुमा मुटु सम्बन्धी समस्या, हड्डीको समस्या र सामान्य चोटपटकमा पनि हड्डी भाँचिने समस्या आउनसक्ने उहाँको भनाइ छ । महिनावारी रोकिने बेला र रोकिएपछि केही समस्या नदेखिएको भए पनि एकपटक चिकित्सकको परामर्श लिएमा ढुक्क हुने अवस्था आउने उहाँको भनाइ छ ।
विशेष क्लिनिकमा स्वास्थ्य परीक्षणका लागि आउने महिलाहरुको स्वास्थ्य परीक्षणमा आफै खटिने भन्दै उहाँले क्लिनिकमा मनोपरामर्श पनि दिइने बताउनुभयो । यस बेलामा देखिने स्वास्थ्य समस्या र त्यस्तो भएमा अपनाउनुपर्ने उपायबारे समेत परामर्श दिइने भएकाले मौकाको फाइदा उठाउन उहाँले आग्रह गर्नुभयो ।
























