चितवन विशेष
नारायणीमा बेपत्ता दिदीभाइको शव फेला

चितवन, चैत २७-
नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई दिदीभाइको शव फेला परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई दिदीभाइको शव सशस्त्र प्रहरीको गोताखोरले आज (बुधबार) फेला परेको हो ।
हिजो (मंगलबार) सोही ठाउँ बस्ने विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय स्वप्निल सेर्पुञ्जा नुहाउने क्रममा डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले बताएका थिए ।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बढाथोकीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले स्वपनिलको शव ३५ फिट गहिराइबाट बिहान ११ः३० बजे र दिक्षाको शव ५० फिट गहिराइबाट अपराह्न १२ः३० बजे निकालेको हो ।
























