Breaking News

मौरीलाई मह उत्पादनसँग मात्र जोड्नु हुँदैन ‘गाईबस्तु पाल्न पनि मौरी आवश्यक छ’

Banner

चितवन, चैत १३-

मौरीलाई मह उत्पादनसँग मात्र नजोड्न विज्ञले सुझाव दिएका छन् । १९औँ राष्ट्रिय मह दिवसको अवसरमा मौरीपालन विकास केन्द्र भण्डारा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवन, कृषि विकास कार्यालय र नेपाल मौरीपालक महासंघले चितवनमा आयोजना गरेको मौरीपालन व्यवसाय प्रवद्र्धन तथा बजारीकरण सम्बन्धि कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मौरी विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।

मौरीले परागसेचनको काममा महत्वपूर्ण भूमिका खेल्ने भएकाले मौरीलाई अन्य बालीको उत्पादनका रुपमा समेत प्रयोग गर्न सकिने कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक तथा मौरीविज्ञ डा केदार देवकोटाले बताउनुभयो । ‘नेपालमा मौरीलाई महसँग मात्र जोडेर हेर्ने गरिन्छ’ देवकोटाले भन्नुभयोे ‘मौरीले कृषि बाली तथा फलफूल र बिरुवामा परागसेचन गराउने भएकाले यसलाई पोलिनेसनसँग जोड्नुपर्दछ ।’ उहाँकाअनुसार ९१ प्रतिशत बालीलाई परागसेचन आवश्यक पर्दछ तर, नेपालमा बढ्दो विषादी प्रयोगका कारण परागसेचन गराउने जीवहरु घट्दै गएका छन् ।

बागमती प्रदेशमा परागसेचनमा आश्रित बालीहरु बृद्धि भएको बताउँदै उहाँले अन्य जीव जस्तै मौरी लोप भए भयावह स्थिति सृजना हुने बताउनुभयो । ‘मौरीले परागसेचन गरिदिएन भने वनजंगलका वनस्पति तथा घाँसहरुको उत्पादन न्यून हुन्छ’ उहाँले भन्नुभयो ‘गाईबस्तु पाल्न पनि मौरी आवश्यक पर्दछ ।’ मौरी परागसेचनको उत्पादनका दृष्टिले महत्वपूर्ण भएकाले यसलाई नीति बनाएर संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ ।

महले पोषण, संस्कृति तथा आर्थिक रुपमा पनि महत्वपूर्ण भूमिका खेलको छ । परागसेचनबिना बाली उत्पाद घट्ने भएकाले खाद्य असुरक्षाका साथै पोषणमा कमी आउने मौरी विकास कार्यालय भण्डाराका प्रमुख सुजन अम्गाईले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा भएका परागसेचक जीवहरुमध्ये ५० प्रतिशत मौरीले ओगटेको छ । परागसेचन जीवहरु घटिरहेको समयमा मौरीबाट परागसेचन प्रकृया अगाडि बढाउन सकिने उहाँको धारणा छ ।

नेपालमा मौरीको संख्या भने घट्दै गएको उहाँले बताउनुभयो । राष्ट्रिय तथ्यांक अनुसार नेपालमा गत वर्षभन्दा चालु आर्थिक वर्षमा महको उत्पादन घट्दो अवस्थामा छ । नेपालमा एक वर्षको अवधिमा चार हजार गोला मौरी घटेका छन् । आर्थिक वर्ष २०७९\२०८० मा दुई लाख ४९ हजार मौरीका गोला रहेकोमा गत आर्थिक वर्ष दुई लाख ४५ हजार मौरीका गोला रहेको उहाँले जानकारी दिनुभयो ।

नेपाल सरकारका कृषि सचिव गोविन्द शर्माले मौरीको चरण क्षेत्र विस्तारका लागि पहल गर्ने बताउनुभयो । सामुदायिक वनमा चरण क्षेत्र विस्तार गर्नुपर्ने उहाँको भनाइ छ । उत्पादन गरेरमात्र विकास नहुने भन्दै सचिव शर्माले बजारीकरणको लागि ध्यान दिनुपर्ने बताउनुभयो । ‘नेपालको महलाई ब्राण्डिङ गर्न आवश्यक छ’ उहाँले भन्नुभयो ‘गुणस्तरीय मह भएपछि स्कुल, आर्मी ब्यारेक, प्रहरी कार्यालयलाई खरिद गर्नका लागि अनुरोध गर्न सकिन्छ ।’

नेपाल मौरीपालक महासंघका अध्यक्ष सुवाषचन्द्र घिमिरेले परागसेचन गरेर वनको क्षेत्र विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने मौरी राख्दा सामुदायिक वनले रोयल्टी उठाउने गरेको बताउनुभयो । ‘हामीले एक घार मौरी राखेको ५ सय रुपैयाँसम्म सामुदायिक वनलाई दिने गरेका छौँ,’ उहाँले भन्नुभयो ‘सामुदायिक वनले लिने शुल्कमा विचार गर्नुपर्न देखिन्छ ।’ जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले मौरीपालन गर्ने किसानसँग वनले रोयल्टी लिन नहुने बताउनुभयो ।

‘मौरी नभए जलचर प्राणीबाहेक अरु बाँच्न सम्भव देखिँदैन,’ उहाँले भन्नुभयो ‘वन विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने मौरी जंगलमा राख्दा सरकारले किसानलाई रोयल्टी दिनुपर्ने हो । यहाँ त उल्टो भएको छ । यो सच्चाउन आवश्यक छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area