चितवन विशेष
भरतपुरमा जेष्ठ नागरिकसँग मेयर कार्यक्रम सुरु

चितवन, चैत ११-
चितनवको भरतपुर महानगरपालिकाले जेष्ठ नागरिकलाई लक्षित गर्दै घरघरमा पुगेर स्वास्थ्य उपचार गर्न सुरु गरेको छ । सामान्य स्वास्थ्य उपचारबाट कोही पनि उपचारमा बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले महागरपालिकाले समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम मार्फत उनीहरुको उपचार गर्न लागेको हो ।
महानगर प्रमुख रेनु दाहालले स्वास्थ्य सेवाको पहुँच जनताको घर घरमा पु¥याउनका लागि यो कार्यक्रम अघि बढाइएको उनले बताइन् । प्रमुख दाहालले नागरिकको स्वास्थ्य सेवाका लागि नै महानगरपालिकाले यस्ता योजना ल्याएको बताएकी हुन् । भरतपुरलाई स्वस्थ सहरका रूपमा अघि बढाउन मेयर स्वास्थ्य कार्यक्रम प्रभावकारी हुने उनको विश्वास छ ।
भरतपुर महानगरपालिकाका स्वास्थ्य विज्ञ डाक्टर भोजराज अधिकारीले जेष्ठ नागरिकहरु नसर्ने रोगका कारण समस्यामा परेका कारण समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको बताए ।
‘भरतपुर महानगरपालिकामा अध्ययन गर्दा ६८ वर्षदेखि ८४ वर्ष उमेर समूहमा नसर्ने रोगको संख्या बढ्दो अवस्थामा देखियो,’ महानगरपालिकाका स्वास्थ्य विज्ञ डा.भोजराज अधिकारीले भने ‘सानो उपचारले ठुलो क्षती न्यूनीकरणका लागि मेयरसँग स्वास्थ्य कार्यक्रम मार्फत टोल टोलमा जेष्ठ नागरिकको स्वास्थ्य उपचार गर्न थालेका हौँ ।’ उनका अनुसार टोलटोलमा पुगेर १२ हजारभन्दा बढी जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य महानगरको रहेको छ । यस अभियान अन्तरगर्त उच्च रक्तचाप, मधुमेह, मृगौलासम्बन्धी परीक्षण गरिने उनले जानकारी दिए ।
अधिकारीका अनुसार अनुसन्धानका क्रममा ६८ बर्षभन्दा माथिका ६० प्रतिशत व्यक्तिलाई नसर्ने रोग देखिएको थियो । त्यसमध्ये ५० प्रतिशत व्यक्तिले औषधी सेवन गर्ने गरेका छन् । ५० प्रतिशत बिरामी अस्पतालबाट बञ्चित रहेको उनले बताए । भरतपुरमा २३ प्रतिशत मानिसमा उच्च प्रेसर, १७ प्रतिशतमा मधुमेह देखिएको छ । उच्च प्रेसर र मधुमेहका विरामीमध्ये १३ प्रतिशत नयाँ देखिएका बिरामी हुन् । मधुमेह र प्रेसरले पनि मृगौलामा समस्या हुने भएकाले यसबाट सचेत हुनुपर्ने बताए । महानगरले पिसावको प्रोटिन समेत परीक्षण गर्नेछ । यो अभियान डेढ महिनासम्म सञ्चालन गरिने महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए । उनका अनुसार, यस अभियानमा स्वास्थ्य स्वयमसेविका, टोल विकास संस्थालाई परिचालन गरिनेछ ।
पहिलो चरणमा महानगरको १४ वटा वडामा यो कार्यक्रम लागू गरिसकिएको छ । बाँकी १५ वडामा दोस्रो चरणको अभियान आजदेखि सुरु भएको हो । चितवनमा नसर्ने रोगका बिरामी बढ्दै गएका छन् । त्यसमध्ये पनि चितवनमा मोटोपना बढी देखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए । ४ हजार ७३८ जनाको स्वास्थ्य परीक्षण गर्दा ७४२ जनामा मोटोपन देखिएको उनले बताए । ६ सय १७ जनामा उच्च रक्तचाप देखिएको थियो ।
नसर्ने रोगको विषयमा बढी ध्यान दिइने छ । भरतपुर महानगरभित्र प्राथमिक स्वास्थ्यचौकी, स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्र गरी ४० वटा स्वस्थ्य उपचार केन्द्रहरु रहेका छन् ।