चितवन विशेष
क्षयरोगसँगको संघर्ष: एक स्वास्थ्यकर्मीको अनुभव र सिकाइ

म डा. अंकित, एक चिकित्सक। आज एउटा यस्तो कथा सुनाउन गइरहेको छु, जुन मैले आफ्नै आँखाले देखेको हुँ। यो कथा हो मेरो सहकर्मी डा. (साथी)—एक होनहार चिकित्सक, जसको एउटा सानो घटनाले उसको जीवन नै बदलियो।
उसको जीवनको सामान्य दिन…
त्यो दिन अस्पतालमा व्यस्तता उस्तै थियो। आकस्मिक कक्ष (ER) को चहलपहलमा बिरामीहरूको चित्कार, नर्सहरूको दौडधूप, चिकित्सकहरूको सल्लाहबुझाइ चलिरहेको थियो।
एकाएक, एक दुब्लो-पातलो, ज्यान सुकिसकेको ४५ वर्षीय बिरामीलाई ल्याइयो। उनको अनुहार मलिन थियो, सास फेर्नै गाह्रो थियो, र लगातार खोकीरहेका थिए। उनलाई ल्याउने श्रीमतीले भनिन्, “डाक्टर साब, उहाँ महिनौँदेखि खोकीरहनुभएको छ, औषधि पसल बाट ल्याएको औषधि, एन्टिबायोटिक्स कति खाई सक्नु भयो, जति औषधि खाए पनि निको भएको छैन।”
डा. साथी बिरामी जाँच्न अघि सरे। म नजिकै थिएँ। उनले सामान्य सर्जिकल मास्क लगाएका थिए, जुन यस्ता संक्रामक रोगका बिरामीसँग सुरक्षित रहन पर्याप्त थिएन। नजिक जाँदा अचनक बिरामीले जोडले खोकी हाल्नु भयो, उनको मुखबाट निस्केको थुकका स-साना थोपा (droplets) डा. साथीको अनुहारमा पर्यो। त्यो समयमा यो घटनालाई उसले त्यति ध्यान दिएन। तर, मलाई त्यो क्षण डर लाग्यो।
केही समयपछि, बिरामीको परीक्षण गरियो—उनी बहु-औषधि प्रतिरोधी क्षयरोग (MDR-TB) का बिरामी रहेछन्। यो सुनेर मेरो मुटु एक्कासी चिसो भएर आयो। डा. साथी त्यतिबेला अलिकति गम्भीर भए, तर उति ठूलो कुरा हो जस्तो ठानेनन्। उनले सामान्य दिनचर्याजस्तै आफ्नो काम गर्दै गए।
केही हप्तापछि…
केही हप्तासम्म सब ठीकै थियो। तर, विस्तारै उनले स्वास्थ्यमा परिवर्तन महसुस गर्न थाले। सुरुमा सानो थकान, रातमा पसिना आउन थालेको, अनि विस्तारै लगातार खोकी लाग्न थाल्यो। उनी चिकित्सक नै थिए, त्यसैले आफैंले परीक्षण गराए।
रिपोर्ट आयो—उनी क्षयरोग संक्रमित भइसकेका थिए।
यो सुनेर म अचम्ममा परेँ। एउटा सानो घटनाले उनको स्वास्थ्यमा यति ठूलो असर पार्न सक्छ भन्ने मैले कल्पना गरेको थिइनँ।
संघर्षको यात्रा…
डा. साथीलाई तुरुन्त उपचारमा राखियो। क्षयरोगको औषधि (ATT) ६ महिनादेखि ९ महिनासम्म खानुपर्छ।
उपचारको क्रममा औषधि पनि लामो समयसम्म खान पर्ने भएकोले साथीले जीवनमा धेरैं अवसरहरू गुमाए र चुनौतीहरू भोगे। काम गर्ने देखि लिएर पढ्ने धेरैं अवसरहरू गुमाए। उनको सम्पूर्ण करिअर रोकिएजस्तो भयो।
जसले गर्दा उनको जीवन पूर्ण रूपमा बदलियो, आर्थिक संकटले बचत सकियो, र परिवारबाट टाढिनु पर्यो। यो सबै पीडाहरूमध्ये आफुलाई लागेको रोग आफ्नो बुडो भएको आमा बुवालाई पनि लग्ने पो होकि भन्ने डरले उनलाई सताई रहन्थ्यो। आफ्नी सानी छोरीलाई काखमा लिन नसक्ने पीडाले उनी मानसिक रूपमा पनि कमजोर हुँदै गए। समाजबाट अलग्गिएको महसुस गर्दै, उनले स्वास्थ्यकर्मीहरूको जोखिम र सुरक्षा उपायहरूको महत्त्व बुझ्न थाले।
सुरक्षाका उपायहरू: के गर्नुपर्थ्यो?
अब जब म यो कथा सुनाउँदैछु, म चाहन्छु कि अरू स्वास्थ्यकर्मीहरूले यस्तो गल्ती नगरून्। डा. साथीले अपनाउनुपर्ने महत्वपूर्ण सुरक्षाका उपायहरू यस्ता थिए:
१. सही मास्कको प्रयोग अनिवार्य
TB जस्ता हावाबाट सर्ने रोग भएका बिरामीको जाँच गर्दा एन९५ मास्क लगाउनुपर्छ।
साधारण सर्जिकल मास्कले यस्ता रोगबाट बचाउन सक्दैन।
डा. साथीले बिरामीको जाँच गर्दा एन९५ मास्क लगाएका भए, उनको संक्रमणको जोखिम घट्ने थियो।
२. राम्रो हावाप्रवाह भएको स्थानमा बिरामीको उपचार
क्षयरोगका बिरामीलाई सधैं निगेटिभ प्रेसर भेन्टिलेसन भएको कोठामा जाँच गर्नुपर्छ।
अस्पतालमा TB वार्ड राम्रो हावाप्रवाहयुक्त हुनुपर्छ।
३. व्यक्तिगत सुरक्षा उपकरण (PPE) को प्रयोग
बिरामीको थुक, रगत वा अन्य शरीरबाट निस्कने तरल पदार्थ प्रत्यक्ष सम्पर्कमा आउन नदिन ग्लोभ्स, फेस शिल्ड, गाउन, र एन९५ मास्क प्रयोग गर्नुपर्छ।
उदारहणको लागि एकजना नर्सले बिना PPE TB संक्रमित बिरामीको परिक्षण गर्दा केही महिनापछि संक्रमण भयो। यदि उनले सही PPE लगाएकी भए, उनी सुरक्षित रहने थिइन्।
४. शीघ्र निदान र उपचारको महत्त्व
TB को जोखिम भएका बिरामीहरूको GeneXpert TB Test वा अन्य छिटो परीक्षण प्रणालीमार्फत चाँडो निदान गर्नुपर्छ।
अस्पतालले संक्रामक रोग फैलिन नदिन टिम वर्कमा काम गर्नुपर्छ।
५. स्वास्थ्यकर्मीहरूको नियमित स्वास्थ्य परीक्षण
TB जोखिम भएका स्वास्थ्यकर्मीहरूले वार्षिक TB स्क्रिनिङ गराउनुपर्छ।
अस्पतालमा काम गर्ने प्रत्येक स्टाफको स्वास्थ्य निगरानी हुनुपर्छ।
रोगीको जिम्मेवारी
क्षयरोग संक्रामक भएकाले बिरामीले अरूलाई बचाउने जिम्मेवारी लिनुपर्छ। मास्क लगाउने, खोक्दा मुख छोप्ने, छुट्टै कोठामा बस्ने, समयमा परीक्षण गर्ने, उपचार पूरा गर्ने, र सचेतना फैलाउने अनिवार्य छ। रोग नियन्त्रण केवल स्वास्थ्यकर्मीको काम होइन, बिरामी स्वयं जिम्मेवार भए मात्र संक्रमण रोक्न सकिन्छ।
निष्कर्ष….
छ महिनापछि साथी निको भएँ। उनले थाहा पाए, क्षयरोगले उनलाई र परिवारलाई धेरै दुःख दियो, तर यसले एउटा महत्वपूर्ण पाठ पनि सिकायो—स्वास्थ्यकर्मीहरूको सुरक्षामा कुनै सम्झौता गर्नु हुँदैन। अब उनी सधैं सावधानी अपनाउँछन्, अस्पतालमा TB सचेतना फैलाउँछन् र जीवनका हरेक चुनौतीलाई आत्मबलका साथ सामना गर्छन्। उनले TB मात्र हराएनन्, TB ले नै उनलाई जीवनका सबै अवरोधलाई जित्ने प्रेरणा दियो। उनी भन्छन्—”म बिरामी भएँ, तर मेरो आत्मबल कहिल्यै बिरामी हुने छैन।”
आज विश्व क्षयरोग दिवस (World TB Day) को अवसरमा म चाहन्छु कि स्वास्थ्यकर्मी, नर्स, टेक्निकल स्टाफ, हाउसकीपिङ स्टाफ—सबैजनाले यी सुरक्षा उपायहरू कडाइका साथ अपनाऊन्।
हामी अरूको जीवन बचाउँछौं, तर त्यस क्रममा आफ्नै जीवनलाई जोखिममा राख्नुहुन्न। सजग बनौँ, सुरक्षा अपनाऔँ, अनि सुरक्षित स्वास्थ्यकर्मी नै सक्षम अस्पतालको आधार बनौँ!
























