समाचार
चितवन ड्राईभिङ्ग स्कुल व्यवसायी संघको ७ औँ वार्षिक साधरण सभा सम्पन्न

चितवन, चैत १०-
चितवन ड्राईभिङ्ग स्कुल व्यवसायी संघले आफ्नो ७ औं वार्षिक साधरण सभा सम्पन्न गरेको छ । ज्ञानेश्वर सामुदायिक वन सानोगढीमा शनिवार विधान पारितसँगै विभिन्न व्यक्तिलाई सम्मान गर्दै वार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी ड्राइभिङ्ग संघका केन्द्रिय अध्यक्ष राजकुमार गुरुङ्गले संघलाई मर्यादित बनाउनका लागि सक्दो सहयोग गर्ने बताउनुभएको छ । उहाँले आफ्नो पेशालाई मर्यादित बनाउन समेत व्यवसायीलाई अनुरोध गर्नुभएको छ ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायक निरीक्षक कृष्ण ढकालले ट्राफिक र ड्राइभिङ्ग स्कुलको सम्बन्ध नङ्ग र मासुको जस्तो हुनुपर्ने बताउनुभयो । उहाँले अगामी दिनमा अझै धेरै सामाजिक कार्यहरु गर्दै संघलाई बलियो बनाउन सुझाव दिनुभयो । यस संघमा ४० वटा भन्दा बढी ड्राइभिङ स्कुल आबद्ध छन् । कार्यक्रममा १३ जना व्यवसायीलाई नयाँ सदस्यता प्रमाणपत्र प्रदान गरेको थियो ।
साधारणसभा सँगै पारिवारिक भेटघाट तथा वनभोजकार्यक्रमको समेत आयोजना गरिएको थियो । संघले रक्तदान लगायतका विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । कार्यक्रममा पूर्व अध्यक्ष रवि रोका र निवर्तमान अध्यक्ष राजाराम परियार, संस्थाका वरिष्ठ उपाध्यक्ष प्रेम गैरे, हरि भण्डारी, कृष्ण बराल लगायतलाई सम्मान समेत गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रम संयोजक तथा संचालन कृष्ण कंडेलले गरेका थिए ।