इच्छकामना
रोजगार संयोजक शेरचनले गरे एक महिनाको पारिश्रमिक योगदान

इच्छाकामना, भदौ १८-
इच्छाकामना गाउँपालिकामा रोजगार संयोजक तथा विपद् फोकल पर्सनका रूपमा कार्यरत आकाश शेरचनले भोटेकोशी बाढी पीडितका लागि एक महिनाको पारिश्रमिक उपलब्ध गराएका छन् । विहीबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई उनले एक महिनाको पारिश्रमिक हस्तान्तरण गरेका हुन् ।
सरकारले कर्मचारीको ५ दिन बराबरको पारिश्रमिक विपद् कोषमा योगदान गर्ने निर्णय गरेको थियो । तर शेरचनले ५ दिनको पारिश्रमिकका अतिरिक्त आफ्नो मासिक पारिश्रमिक रु ४८ हजार ५८ सहयोग गरेका हुन् ।
विपद्का बेला राहत दिनु मात्र पर्याप्त नभई विपद् आउनुअघि नै समुदायलाई तयार बनाउनु पर्ने उनको धारणा छ । स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्यकर्र्मी, स्वयंसेवक, व्यवसायी तथा यूवाबीच समन्वय गरेर काममा बलियो बनाउने अभियानमा शेरचन सक्रिय छन् ।
सिभिल इन्जिनियरिङ अध्ययन गरेका शेरचनले आफ्नो ज्ञान, सार्वजनिक सेवाको अनुभव र युवासँगको सहकार्यलाई सामाजिक कामसँग जोड्दै आएका छन् ।
‘आम्दानीको एउटा हिस्सा समुदायको दुःखमा समर्पित गर्नु केवल आर्थिक सहयोग होइन, अरूलाई पनि आफ्नो ठाउँबाट योगदान गर्न प्रेरित गर्ने सन्देश हो, शेरचनले भने ।






















