Breaking News
पन्ध्र महिनादेखि अस्पतालको शय्यामा कालिदास, उपचार खर्च जुटाउने चिन्तामा परिवार

चितवन, फागुन १४-
चितवन फिजियोथेरापी सेन्टरको ‘प्यासेन्ट आइडेन्टीफिकेसन बोर्ड’ (बिरामी पहिचान पाटी)मा कालिदास ढुंगानाको नाम लेखेको पनि करिब एक वर्ष पुगिसक्यो । फोजियोथेरापी सेन्टरलाई यो नाम हटाउनु परेको छैन । १ सय ५ नम्बर बेडमा उपचारत ढुंगानाको डिस्चार्ज कहिले हुन्छ थाहा छैन । उनी यहाँ भर्ना भएपछि कयौँ बिरामी आउने र निको भएर फर्किने क्रम चलिरह्यो । तर, कालिदास भने सोही शय्यामा लडिरहेका छन् ।
३३ वर्षिय कालिदास यो अवस्थामा त्यसै पुगेका होइनन् । १५ महिनाअघि सवारीसाधन दुर्घटनामा परेपछि उनी अचेत अवस्थामा पुगेका थिए । भरतपुरको चौबिसकोठीस्थित हस्पिटल रोडमा रेष्टुराँ चलाउँदै आएका ढुंगाना विसं २०८० पुस १० सवारीसाधन दुर्घटनामा परेका थिए । रेष्टुराँ खोल्न बिहान ८ बजे रामनगरस्थित घरबाट मोटरसाइकलमा निस्किएका उनलाई भारतीय नम्बर प्लेटको बोलेरोले पछाडिबाट ठक्कर दियो । घटनामा बेहोस भएका उनलाई केही समयपछि प्रहरीले उद्धार गरी उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेज लग्यो ।
टाउकाको सिटी स्क्यान गरेर हेर्दा ब्रेन ह्यामरेज भएको देखियो । चिकित्सकले बचाउन नसकिने बताएका थिए । तर, सास रहुन्जेल बाँच्ने आश सबैलाई हुन्छ । परिवारले भेन्टिलेटरमा राखेर उपचार गर्न अनुरोध गरे । केही दिनपछि स्वास्थ्यमा सुधार देखियो । चिकित्सकको सल्लाह अनुसारनै उनको टाउकोको शल्यक्रिया गर्ने निर्णय भयो । उनको एक पटक होइन तीन÷तीन पटक टाउकाको शल्यक्रिया गरियो ।
भेन्टिलेटर र आइसियू गरि चितवन मेडिकल कलेजमा मात्रै ९४ दिन राखियो । तर, ढुंगाना बोल्न र हिँड्न सक्ने अवस्थामा फर्किएनन् । त्यहाँ उपचार खर्चिलो भएपछि घाइते ढुंगानाको परिवारले उनलाई फिजियोथेरापीका लागि चितवन फिजियोथेरापी सेन्टरमा सारेको पनि एक वर्ष भइसक्यो । अझै कहिलेसम्म ढुंगानाको यसरी नै उपचार गर्नुपर्छ भन्न सक्ने अवस्था छैन ।
अहिले उनको थेरापीमामात्रै दैनिक ५ हजार रुपैयाँको हाराहारीमा खर्च हुन्छ । कमाउने घरको सदस्यनै लामो समयदेखि अस्पतालको बेडमा भएपछि परिवारलाई उनको उपचार खर्चको जोहो कसरी गर्ने भन्ने चिन्ता छ । ढुंगानाको उपचारमा अहिलेसम्म करिब ५० लाख रुपैयाँ खर्च भइसकेको छ । ‘सरसापट र ऋण खोजेर दाइको उपचार गराइरहेका छौं’, उनका भाइ दिननाथ ढुंगानाले भने, ‘अब ऋण कसरी तिर्ने र उपचार खर्चको जोहो कसरी गर्ने भन्ने चिन्तामा छौं ।’ आजसम्म त उनीहरुले आर्थिक सहयोगका लागि कसैसँग हात फिँजाएका थिएनन् । अब भने हारगुहार गर्नुको बिकल्प नरहेको निष्कर्षमा परिवार पुगेको छ । भाइ दिननाथले यो कठिन परिस्थितिमा सहयोगी मनहरुलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।
घाइते ढुंगानालाई खाना खुवाउने र सौच गराउने काम समेत अरुले नै गरिदिँदै आएका छन् । पाइपको सहायताले उनलाई खाना खुवाउने गरिएको दिननाथको भनाइ छ । ठूलो छोरा घाइते भएर अस्पतालको शय्यामा पुगेपछि आमालाई पनि प्रेसरको औषधि खानुपर्ने बाध्यता आइपरेको छ । छोराको चिन्ताले गर्दा केही कुरा पनि भुलिहाल्ने अवस्था सिर्जना भएको उनी बताउँछिन् ।
अधिकांश युवा विदेश जाने लहरमा लागिरहेका बेला कालिदासले भने नेपालमै केही गर्ने उद्देश्यले व्यवसाय सुरु गरेका थिए । उनले भरतपुरको अस्पताल रोडमा रेष्टुराँ खोेलेर ग्रहाकको मन जितिरहेका थिए । उनको व्यवसाय फष्टाउँदो क्रममा पनि थियो । यही क्षेत्रबाट सफल व्यवसाय बन्ने उनको सपना थियो । तर, उनको त्यो सपना दुर्घटनापछि टुटेको छ ।
ढुंगानाका आमाबुवा ७५ वर्ष नाघिसकेका छन् । ढुंगानाकी श्रीमती र एउटा ६ वर्षीया छोरी छन् । श्रीमतीले बागलुङ बडिगाड गाउँपालिकाको सिद्धी माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएकी छिन् । प्राथमिक तहमा स्थायी नियुक्ति रहेको उनलाई श्रीमान् घाइते भएर अस्पतालको शय्यामा रहेको बेला श्रीमान्सँग बस्ने र सेवा गर्ने रहर छ । तर, सरोकारवाला निकायले उनलाई यहाँ सरुवा गर्न स्वीकृत दिएको छैन ।
शिक्षा मन्त्रालय, शिक्षा विभागबाट स्वीकृति लिएर आउँदा समेत जिल्ला शिक्षा समन्यव इकाई चितवनले सरुवाका लागि रोकेको परिवारले जनाएको छ । हाल कार्यरत रहेको विद्यालय र भरतपुरको रामनगर माध्यमिक विद्यालयले समेत स्वीकृति दिँदा जिल्लाा शिक्षा समन्वय इकाई चितवनले आउन स्वीकृत दिएको छैन । ‘सरुवा भयो भने हामीले पनि अन्य काम गर्न सक्नेथियौं’, भाइ दिनानाथले भने, ‘दाइको उपचार खर्च जुटाउन पनि सहज हुनेथियो । अहिले कमाउने उमेरमा अस्पतालमा कुरेर बस्नु परेको छ ।’
घाइते ढुंगानाको उपचारमा जसोतसो ऋणधन गरेर खर्च जुटाइरहेको परिवारलाई अहिले अहिले उपचार खर्च जुटाउन पनि कठिन भइरहेको छ । ‘सकेसम्म अरुको पैसा प्रयोग नगरौँ भन्ने थियो’ ढुंगानाकी आमा लक्ष्मी ढुंगानाले भनिन्, ‘खर्चको जोहो गर्न अहिले निकै कठिन भइरहेको छ ।’
























